PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पर्यटकको चहलपहलसँगै अतिक्रमणको जोखिममा माझीकुना



रिना थापा

पर्यटकको चहलपहलसँगै अतिक्रमणको जोखिममा माझीकुना

पोखरा : पोखरा बजारबाट केही पर छ माझीकुना। बेगनास ताल पुगेपछि पनि थोरै माथि लाग्नुपर्छ। बेगनास तालको कुना नै हो माझीकुना। स्थान रमणीय भए पनि पर्यटकका लागि अपायक पर्ने ठाउँमा रहेकाले जति आकर्षण हुनुपर्ने हो त्यति देखिँदैन। स्थानीय माछाको स्वाद लिनका लागि पोखरा आसपास क्षेत्रका पर्यटकको भने बाक्लै उपस्थिति देखिन्छ माझीकुनामा।

माझीकुनामा व्यवसाय सुरु भएको दश वर्ष बित्यो। विगत पाँच वर्षदेखि पर्यटकको उपस्थिति बढ्न थाल्यो। विशेषगरी शुक्रवार र शनिवारका दिन होटल र रेष्टुरेन्ट पूरै भरिन्छ। कोरोना भाइरसको दोस्रो लहरपछि स्थानीय पोलेको माछाले सामाजिक सञ्जाल पिट्यो। र, माझीकुनाले थप चर्चा पायो। महामारीको समयमा भएको चर्चाले माझीकुनाको पर्यटनमा नयाँ आयाम लिएर आएको छ। पर्यटकको उपस्थिति बढेसँगै करोडौं लगानीमा रेष्टुरेन्ट खोल्ने र भौतिक संरचना थप निर्माण गर्ने काम बढेको छ। सँगै यसले बेगनास ताल अतिक्रमणको जोखिम पनि निम्त्याएको छ।

पर्यटकको चहलपहलले ताल मिचेर रेष्टुरेन्ट निर्माण गर्ने क्रम बढ्दो छ। यस विषयमा वडा कार्यालय र महानगर नै मौन बसेको माझीकुनाका एक व्यवसाय सुनाउँछन्।

‘लकडाउनपछि नै यहाँ तालको जग्गा मिचेर करोड बढीको दुई तीनवटा रेष्टुरेन्ट बन्दै छ,’ उनले सुनाए, ‘ पहिल्यै बनेका रेष्टुरेन्टले पनि स्पेस बढाउँदै छन्। हिजोसम्म दश जना अटाउने रेष्टुरेन्टमा मान्छे राख्‍न तालमै पुगिसके।’

तत्कालीन लेखनाथ नगरपालिकाले बेगनास तालको एकसय मिटर आसपासमा कुनै पनि संरचना निर्माण गर्न नपाउने मापदण्ड तोकेको थियो। पछि पोखरा महानगरपालिकामा लेखनाथ गाभिएपछि पनि सोही मापदण्ड लागू गरियो। दुई वर्ष अगाडि बेगनासको पिप्लेमा तालको जग्गा अतिक्रमण गरेर संरचना बनाइयो। अतिक्रमण बढ्ने क्रममा महानगरले रोक्ने प्रयास नै गरेन। त्यस समय पनि माझीकुनामा केही रेष्टुरेन्ट सार्वजनिक जग्गामा ठडिए। महानगर मौन नै बस्यो। पोखरा महानगरले नयाँ मापदण्ड तोक्नु अगावै माझीकुनामा ३० वटाभन्दा धेरै रेष्टुरेन्ट निर्माण भइसकेका थिए। यीमध्ये कतिपय त सार्वजनिक जग्गामा बनेका छन्। केही मापदण्ड विपरीत ठडिएका। अहिले पोखरा महानगरले सातै तालको मापदण्ड तोकिसकेको छ। जसमा, बेगनासको मापदण्ड घटेर ५५ मिटरमा झारेको छ।

अतिक्रमणको वास्ता नगरेको महानगरको काम भने मापदण्ड निर्धारण गर्नुमात्र भएको छ। न महानगर अनुगमनमा पुग्छ, न कुनै काम कारवाही हुन्छ। माझीकुनाका केही संरचना त पुरानो मापदण्ड तोकिएपछि नै बनेका छन्। अहिले पनि केही रेष्टुरेन्टहरुले धमाधम संरचना थप्दैछन्। जसमध्ये एक हो माझीकुनाको एलेक्स रेष्टुरेन्ट।

रेष्टुरेन्टका संचालक विकास लामिछाने माझीकुनाका सुरुवाती व्यवसायी हुन्। अहिले उनैले पनि ताल छेउैमा संरचना बनाएका छन्। तर, उनी आफ्नो जग्गा नभत्किओस् भनेर संरचना बनाएको दावी गर्छन्।

'वर्षैपिच्छे यहाँ तालले जमिन खोल्दै जाने गर्छ। त्यसले गर्दा संरचना नभत्काओस् भनेर हामीले पर्खालमात्र लगाएको हो। जग्गा नभत्किओस् भनेर मात्र हो,’ आफ्नो कदमको बचाउ गर्दै लामिछानेले भने। यसबाहेक ताल छेउका अन्य रेष्टुरेन्टले पनि संरचना थपेर बनाएका छन्। बन्दै गरेका नयाँ संरचना समेत मापदण्ड विपरीत छन्।

वडा निरीह छौं, महानगर भन्छ : एक्सनमा जान्छौं 

माझीकुनामा ताल मिचेर संरचना निर्माण भएको गुनासो लिएर स्थानीय नै वडामा पुग्ने गर्छन्। वडा अध्यक्ष महानगर गुहार्न आइपुग्छन्। महानगरले विजयपुरको पुल उता वास्ता नै गर्दैन। वडा ३१ क वडा अध्यक्ष कमलबहादुर थापाको गुनासो छ - महानगरले ताल संरक्षणमा वास्ता गरेन। तत्कालीन लेखनाथ नगरपालिका रहँदा ताल संरक्षणबारे भने चासो भएको उनको जिकिर छ।

‘विजयपुरवारि तिर नगर प्रहरी नै नआउने, महानगरको बिजोग भयो। पहिले लेखनाथ हुँदा यता बेगनास र रुपाको ध्यान हुन्थ्यो,’ वडा अध्यक्ष कमलले गुनासो पोखे, ‘महानगरपालिका भएपछि बढी ध्यान जान्छ भनेको तर महानगरको इच्छा शक्ति भएन। हामीले रिपोर्ट पठाउँछौं, केही गर्दैनन्।’

ताल मिचिरहेको देख्दा पनि वडाले केही गर्न नसकेको उनी स्वीकार गर्छन्। महानगरपालिकालाई बारम्बार बनेका संरचना भत्काउन खबर गरे पनि नपठाएको उनको गुनासो छ।

‘कुनै–कुनै ठाउँमा अटेरी भयो। मापदण्ड मिचियो। त्यो सत्य हो। हामी वडा निहत्था छौं। हामीसँग नगर प्रहरी पनि छैनै,' उनले भने, 'भएका तिनै जनता हुन्। तिनै जनता अटेर गर्छन्, गुनासो पनि गर्छन्। महानगरपलिकामा गएर नगर प्रहरीहरु पठाउदिनु होस् न भनेर रिक्वेष्ट गर्छौं। आउँदैनन्।'

महानगरले समयमै बनिरहेको संरचना निर्माण कार्य रोक्न नसके बेगनासमा पनि फेवाताल जसरी अतिक्रमणले विकराल रुप लिन सक्ने उनले सुनाए। ‘नगर प्रहरी आएर यस्सो भत्काइदिए डराउँथे  कि। मिच्ने थिएनन् कि। वडा अध्यक्षले के गर्न सक्छ? महानगरपालिकाले कहिल्यै पनि यता वारितिर नगर प्रहरी पठाएन। पछि चाहिँ यो फेवाताल जस्तै हुन्छ। भत्काउनै नसक्ने। अहिल्यै बनाउन नदिए जोगिन्थ्यो कि,’ उनले सुनाए।

यता महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले भने महानगरले बेगनास तालको अतिक्रमणको समस्यामा चासो दिएको दावी गर्छन्। व्यवसायिक दृष्टिकोणले जग्गा अतिक्रमण गरे पनि महानगरले त्यस्ता संरचना भत्काउने उनको भनाइ छ।

‘कहिलेकाहीँ उजुरी आएलगत्तै जान ढिलो हुनेहुँदा यस्ता प्रतिक्रिया आउँछन्। स्वभाविक रुपमा लिनुपर्छ,' उनले भने, 'व्यवसायिक दृष्टिकोणले जग्गा अतिक्रमण गर्नै कुरा आफैँमा खेदजनक हो। जसले अतिक्रमण गर्छ त्यो ढिलो चाँडो भत्किन्छ। महानगर एक्सनमा जान्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell