- विधुर ढकाल-
तयारी हुँदै छ रे यहाँ
डाक्न बाउसे र रोपहारहरु
रोगको नाममा
भोकको नाममा
शोकको नाममा
फगत आश्वासनको बीउ बाँडेर
गर्नका लागि सपनाको खेती
फेरि बाँडिदैछन् रे बस्तीहरुमा
तीनपानेका प्यालाहरु
पञ्च वर्षे ह्याङ उतार्न
तिर्खाएका आँतहरु लठ्याउन
र लिइँदै छ रे औँठा छाप
चुनाउको नाममा
फेरि एकपटक सत्ताको भर्याङ चढ्ने दाउमा
फेरि एकपटक देश खोक्र्याउने चाहनामा
र बनाइँदै छ रे बन्धक स्वतन्त्र बाउसे र रोपहारहरु
र त्यही लठ्ठाइमा लुटिँदै छ रे अस्मिताहरु।
सपनाको बीउ लिएर
फेरि बस्ती पस्दै छन् रे 'मुनीब'हरु
समृद्धिका सपना बोकेर 'कामरेड'हरु
समुन्नतिका पोको बोकेर 'दाई'हरु
सुन्दर सपना फुलाई दिने नाममा
सपनाका कोपिलाहरु नै ओइलाई दिन
र सुदुर बस्तीबाट झुक्याएर किनिँदैछन् रे अस्मिताहरु
भोक हट्ने नाममा
शोक हट्ने नाममा
रोग घट्ने नाममा
सपना फकाउन परिचालित हुँदै छन् रे
बस्तीहरुमा राजधानीका आलिसान महलका मुनीबहरु
हिजो लुटिएको अस्मिताको
क्षतिपूर्ति पाइएको छैन अझै
हिजो टुक्रिएको सपनाको
क्षतीपूर्ति पाइएको छैन अझै
बन्धक बनेको सुन्दर चाहनामा फक्रिएका सपनाहरु
निखन्न सकिएको छैन अझै
यही बेला फेरी ब्वाँसाहरु
छिर्दै छन् रे बस्तीमा
बूढी आमैका चिचिला पठ्ठाहरुको घाँटी निमोठ्न।
हिजोका मुनीब चिन्नुपर्ने हो हामीले
हिजोका ब्वाँसाहरु पनि चिन्नुपर्ने हो हामीले
सपनाका बलात्कारीहरुलाई
हामीले कहाँ यति चाँडै बिर्सनु हुन्थ्यो र?
तर बिर्सियौँ
र आज
तिनै सपनाको बलात्कारीको स्वागतद्वार बनाउँदै छौँ हामी
बस्तीको सिरानमा
तिनै मुनीबको स्वागतमा
सपनालाई बन्धकी राख्न लाह छाप लगाउँदै छौ हामी
ती बुढी आमा पनि
ब्वाँसोको स्वागतमा
अर्को पठ्ठोको सिकार बनाउँदै छिन्।
तिनीहरुकै पछिपछि नारा निकाल्दै हिड्यौँ हामी
भन्यौं, गाँउमा बत्ती बल्यो
तर देखेनौं झुत्तिएका गरिबीहरु
भन्यौं, गाँउमा सडक पुग्यो
तर बुझेनौं, कुद्नेछन् हाम्रा अस्मिता लोड हुने लरीहरु
सपनाहरु राजधानीमा बेचिएको भुल्यौँ
र सोच्यौँ हाम्रा सपनाहरु शहरमा आराममा छन्
ती बूढी आमाले पनि कहाँ बुझिन् र?
थोरै थापिन् भत्ता र गरिन् जयजयकार
तर, सपनाको पठ्ठोको मूल्य कति पर्छ? उनलाई भएन थाह
बीउ बाँड्नेमात्र हैन,
पोहोरपरारको झैं सपनाका लुटेराहरुको
बिगबिगी बढ्दै छ रे बस्तीमा
सपनाका बलात्कारीहरुको
बिगबिगी बढ्दै छ रे बस्तीमा
सपनाका पठ्ठो घोक्राउने
ब्वाँसाहरुको बिगबिगी बढ्दै छ रे बस्तीमा।
आउ एक पटक ब्वाँसाहरु लखेटौं
बस्तीको पाले खोजौँ यसपटक
तिम्रा पठ्ठो जोगाउने
चौकिदारहरु रोजौँ।
सपनाको बलात्कारीलाई पाता कस्न
उनीहरुकै अदालतमा उनीहरुलाई नै उभ्याऔँ
र, न्यायाधीशको कूर्सीमा बसेर
एक पटक फैसला गरौँ
गाउँ निकालाको!