PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन, 'एमालेसँग कतै तालमेल हुँदैन'



पहिलोपोस्ट

गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन, 'एमालेसँग कतै तालमेल हुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनमा तिक्तता आउने गरी बाहिर नबोल्न निर्देशन दिएका छन्। शनिवार केन्द्रीय कार्यसम्पादन समिति बैठकबारे ब्रिफिङ गर्दै प्रवक्ता महतले बाहिर बोलेर केही नहुने बताएका छन्।

महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख टुंगो लगाउन सानेपामा कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक जारी रहेको उल्लेख गर्दै उनले छलफलबाटै निष्कर्ष निकालिने बताए। 'मिडियामा चिच्याएर फाइदा छैन। हामी बढी छौ भन्ने कुराले तिक्तता पैदा हुन्छ,'   प्रवक्ता महतले भने, 'सम्बन्धित नेतृत्वलाई जिम्मेवारी दिएको छ। त्यहाँ पो बोल्नपर्‍यो।'

कांग्रेसमा विभिन्न स्थानीय निकायका नेता कार्यकर्ताले तालमेल गर्न नहुने सुझाव दिन थालेपछि कांग्रेसलाई तालमेल र उम्मेद्वारी टुंगो लगाउन सकस परेको छ। तालमेल गर्न नसकिने अवस्था भएको ठाउँमा केन्द्रलाई रिपोर्ट पठाउन महतले आग्रह गरे। 'हामीले जे कुरा गर्ने हो बैठकमा गर्ने हो। त्यसबाट निष्कर्ष गर्ने हो। जहाँ तालमेल हुन सक्दैन त्यसको रिपोर्ट गर्ने हो। बाहिर आशंका फैलाउने खालको हल्ला गरेर काम छैन,' महतले थपे, 'बाहिर बोलेर काम छैन। निर्णय गर्ने जिम्मेवार पाएका साथीहरुले गर्छन्।'

कांग्रेसले स्थानीय वस्तुस्थिति अनुसार समझदारी गर्नेसमेत उनले बताए। ६ महानगर र ११ उपमहानगरबाहेक अरु स्थानमा केन्द्रको कुनै निर्देशन नरहने उल्लेख गर्दै उनले एमालेलाई हराउन सक्ने ठाउँमा स्वस्थ्य प्रतिस्पर्धा हुन सक्ने बताए। 'कुनै स्थानमा आआफ्नो दाबी रहन सक्छ। मेरै जनाधार बढेको छ। हामी नै जित्छौ। विपक्षी एमालेले जित्न सक्दैन भने त्यस्तो ठाउँमा फ्रेन्ड्ली प्रतिस्पर्धा हुन सक्छ,' महतले भने, 'एमालेसँग गठबन्धन गर्न भने जाँदैन। त्यही मर्म र भावनाअनुसार स्थानीय तहमा जिम्मेवारी निर्वाह गर्नुहोला। हुनेसम्म तालमेल गर्नुहोला। नहुने अवस्था आयो भने केन्द्रलाई रिपोर्ट गर्नुहोला।'   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell