PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्वप्रकाशले भने, ‘भरतपुरमा माओवादीले कांग्रेसलाई छोड्नुपर्छ’ देउवा भन्छन्, ‘तालमेल हुनुपर्छ ’



नेत्र तामाङ

विश्वप्रकाशले भने, ‘भरतपुरमा माओवादीले कांग्रेसलाई छोड्नुपर्छ’ देउवा भन्छन्, ‘तालमेल हुनुपर्छ ’

काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको नेतृत्व यसपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्ने बताएका छन्। महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउन बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले अघिल्लो पटक माओवादीलाई नेतृत्व छाडेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

'२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो। माओवादी चाहन्छ यो पटक पनि कांग्रेसले सघाउनु पर्छ,' बैठकमा महामन्त्री शर्माले भने, 'हामी चाहन्छौँ यो पटक माओवादीले कांग्रेसलाई छोड्नुपर्छ। त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ -भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ।'

नयाँ विकल्पमा माओवादी जान नमाने तेस्रो विकल्प कांग्रेसले रोज्नुपर्ने उनको भनाई रह्यो।

'नयाँ र तेस्रो विकल्प भनेको दुवैले नछाड्ने अर्थात् नयाँ विकल्प मित्रवत प्रतिस्पर्धा' , शर्माले भने, 'नितान्त व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो दृष्टिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो। तर निजात्मक बुझाई, भावनात्मक आवेग र धरातलीय यथार्थबीच जो फरक हुन्छ, त्यही गाम्भीर्यताले तालमेलको तर्कमा म सुरुमै सहमत भएको हुँ। हाम्रो निर्णय गठबन्धन होइन। तालमेल मात्र हो। त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरुप मात्र।'

बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकोले कांग्रेस बढी जिम्मेवार बन्नुपर्ने धारणा राखे। प्रधानमन्त्री देउवाले गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको दोहोर्‍याउँदै तालमेल हुनुपर्ने बताए।

'कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ। चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेको छ,' बैठकमा देउवाले भने।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनमा तिक्तता आउने गरी बाहिर बोल्न नहुने बताए। शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबारे ब्रिफिङ गर्दै प्रवक्ता महतले भने, 'मिडियामा चिच्याएर फाइदा छैन। हामी बढी छौँ भन्ने कुराले तिक्तता पैदा हुन्छ। सम्बन्धित नेतृत्वलाई जिम्मेवारी दिएको छ। त्यहाँ पो बोल्नपर्‍यो।'

कांग्रेसमा विभिन्न स्थानीय निकायका नेता कार्यकर्ताले तालमेल गर्न नहुने सुझाव दिन थालेपछि कांग्रेसलाई तालमेल र उम्मेद्वारी टुंगो लगाउन सकस परेको छ। तालमेल गर्न नसकिने अवस्था भएको ठाउँमा केन्द्रलाई रिपोर्ट पठाउन महतले आग्रह गरे।

'हामीले जे कुरा गर्ने हो बैठकमा गर्ने हो। त्यसबाट निष्कर्ष गर्ने हो। जहाँ तालमेल हुन सक्दैन त्यसको रिपोर्ट गर्ने हो। बाहिर आशंका फैलाउने खालको हल्ला गरेर काम छैन,' महतले थपे, 'बाहिर बोलेर काम छैन। निर्णय गर्ने जिम्मेवार पाएका साथीहरुले गर्छन्।'

बैठक निष्कर्षविहीन

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेद्वार टुंगो लगाउनेबारे बसेको बैठक निष्कर्षविहीन रुपमा टुंगिएको छ। सानेपामा शनिबार दिउँसोबाट बसेको बैठक बिना निष्कर्ष टुंगिएको कांग्रेस नेता एनपी साउदले जानकारी दिए।

बैठकमा तालमेल र उम्मेद्वार चयनबारे छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको उनले बताए।

'आज गठबन्धनका सम्बन्धनमा र जिल्ला जिल्लामा तालमेल र उम्मेद्वारको चयन सम्बन्धमा व्यापक रुपमा छलफल भयो। तर निर्णय केही भएन। गठबन्धनलाई तार्किक निष्कर्षमा पुर्‍याउन गम्भीर छलफल हुनुपर्छ भन्ने कुरा आएको छ,' बैठकपछि नेता साउदले भने।

बैठक भोलि पनि बस्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाउनेबारे केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको थियो। कांग्रेस केन्द्रले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख टुंग्याउने गरी यसअघिनै केन्द्रीय समितिले निर्णय गरेको हो।

यी स्थानीय तहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसँग बाँडफाँट टुंगो लागेपछिमात्र उम्मेद्वार टुंगो लाग्ने बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान चितवन पुगेर भोलिसम्ममा गठबन्धनको उम्मेद्वार टुंगो लाग्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell