PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'प्रिक्वेल' भन्दा दमदार फिल्म 'केजीएफ च्याप्टर २'



लक्ष्मी बलायर

'प्रिक्वेल' भन्दा दमदार फिल्म 'केजीएफ च्याप्टर २'

गरुडाको मृत्युपछि रकीले 'भय'को नाश गरे। तर, केजीएफमा आफ्नो साम्राज्य कायम राख्‍न सक्छन् त? रकीका पछाडि २० हजार मर्न र मार्न तयार अवस्थामा पुगेको ब्रिफिङ र डेथ वारेन्ट जारी भएसँगै सकिएको केजीएफको सिक्वेलमा के होला? अड्कलबाजीको बजार गएको बुधवारसम्म जारी थियो১। प्रिक्वेललाई जोडेर आफैँ कथा र प्लट बनाउँदै सोसल मिडियामा सेयर गर्नेहरु बढिरहेका थिए। सोसल मिडियामा भाइरल बन्दै थिए काल्पनिक कथाहरु जसले अभिव्यक्त गरिरहेको थियो – केजीएफ च्याप्टर २ को व्यग्र प्रतीक्षा। बिहीवार फिल्म रिलिजसँगै प्रतीक्षाको अन्त्य भएको छ। कस्तो छ त केजीएफको सिक्वेल?

सन् २०१८ मा रिलिज फिल्म ‘केजीएफ' सिक्वेल च्याप्टर २ ले पहिलो दिन नै हिन्दी भर्सनमा प्रिक्वेलको अहिलेसम्मको कमाई उठाइदियो। यही रेकर्डले नै बताउँछ फिल्मप्रति मानिसको प्रतीक्षा। त्यो प्रतीक्षा गरेका दर्शकले फिल्मको प्रिक्वेल कथाबाटै सिलसिलेबार रुपमा ‘केजीएफ-च्याप्टर २’ को लय समात्छन्।

केजीएफ कथा न्यारेटर आनन्द इनगल्की ब्रेन स्टोक भएर ढल्छन्। केजीएफको कथा टिपिरहेकी पत्रकार दीपा हेगडे अस्पताल पुग्छिन् जहाँ उनी निकै गम्भीर अवस्थामा हुन्छन्। त्यही दीपाको भेट हुन्छ आनन्दका छोरा विजेन्द्रसँग। नेसनल अवार्ड बिजेता प्रकाशराज विजेन्द्रका रुपमा केजीएफमा भित्रिन्छन्। र, उनैले सुनाउँछन् केजीएफ साम्राज्यभित्र के के भयो।

गरूड (रामचन्द्र राजु) लाई मारेपछि रकीले (यश) कोलार गोल्ड फिल्ड्समाथि कब्जा गर्न लागेको त पहिलो श्रृङ्खलाले नै स्थापित गरिदिएको छ। गरूडका भाइ तथा केजीएफको उत्तरधिकारी विराट पनि यशकै सिकार हुन्छन्। भयको राज समाप्त हुन्छ। केजीएफ रकीको कब्जामा आउँछ। त्यहाँका मानिसका लागि यश मसिहाका रुपमा नै स्थापित हुन्छन्। फिल्मलाई टर्न गराउन सूर्यवर्धनका भाइ अधिरा (सञ्जय दत्त)को इन्ट्री आकर्षक हिसाबले हुन्छ। अधिराले केजीएफ हडप्न खोजेपछि द्वन्द्वले अर्को रुप लिन्छ। त्यही द्वन्द्वमा प्रधानमन्त्री रमिका सेन (रविना टन्डन) पनि जोडिन्छिन्। शून्यबाट ठूलो तलाउ र पछि समुन्द्रमाथि नै हैकम जमाउन थालेका यशले केजीएफमा आफ्नो प्रभुत्व कायम गर्न कस्ता संघर्ष गर्नुपर्छ? यश, अधिरा र रमिकामध्ये को कसमाथि कति हावी हुन्छन्? केजीएफ पाउन हुने लडाइका वरिपरि नै घुमेको छ फिल्म ‘केजीएफ च्याप्टर २’ को कथा।

फिल्मको केन्द्रीय पात्र रकीको भूमिकामा यशले दमदार अभिनय पस्केका छन्। उनको इन्ट्रीले दर्शकलाई उत्साही बनाउँछ। अधिराको क्यारेक्टर केजीएफमा पहिलो पटक भएकाले उत्सुकताले भरिपूर्ण छ नै त्यसको रोलमा सञ्जयको अभिनय बुलन्द लाग्छ। सञ्जयको लुक्सले फिल्मलाई थप कौतुहल बनाएको थियो पोस्टर जारी हुँदादेखि नै। केन्द्रीय पात्रसँगको कन्फ्लिक्टमा उनी फिट छन्।

प्रकाश राजको कथा वाचन उत्तिकै दमदार छ जसले दर्शकलाई बाधिँराख्छ। फिल्मको दोस्रो हाफ पहिलोको तुलनामा धमाकेदार अनुभूति हुन्छ। रमिका (रविना टण्डन) को प्रवेशले फिल्ममा चार चाँद लगाउँछ। रमिकाको बोल्ड लुक र चरित्रले बलियो छाप छोडेको छ फिल्ममा। रकीको अपोजिटमा रहेकी रीना (श्रीनिधि शेट्टी)ले पात्रलाई न्याय दिएकी छिन्। रकीकी आमा (अर्चना जोइस)ले भावनात्मक बनाएकी छिन् फिल्मलाई। एक्सनभित्र इमोसनको 'ब्लेन्डेड फर्म' तयार हुन उनको भूमिकाले गजब अर्थ राख्छ।

सन् २०१४ बाट फिचर फिल्मको निर्देशनमा आएका प्रशान्त नीलले आफूलाई फेरि पनि प्रमाणित गरेका छन्। हिंसात्मक द्वन्द्वमा प्रेम र स्नेहलाई घोल्न पर्याप्त चातुर्यता देखाएका छन् उनले। यशसँगै प्रशान्त नीललाई पनि यो सिक्वेलले सेलिब्रिटी स्टाटसमा उकालेको छ। फिल्ममा छायांकनदेखि भिएफएक्सको काम हौसियारीपूर्वक भएको छ। नीलले फिल्ममा डार्क टोनको बढी नै प्रयोग गरेका छन्।

समग्रमा भन्नुपर्दा ‘केजीए च्याप्टर-२’ ऐतिहासिक कथाको नविनतम प्रयोगको उपज हो जसमा एक्सन र मनोरञ्जनको फुल प्याकेज छ। फिल्मप्रति दर्शकको जुन क्रेज थियो त्यसलाई मर्न दिएका छैनन् निर्देशक नीलले। प्रिक्वेल हेरिसकेका दर्शकका लागि केजीएफ च्याप्टर २ अनिवार्य प्याकेजका रुपमा आएको छ। त्यसैले यसलाई मिस गर्नुभयो भने पक्कै केजीएफको स्टोरी मिस गर्नुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell