
काठमाडौं : अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले पर्यटकहरुलाई भिसा शूल्क वापतको रकम 'क्यास'मा बुझाउन आग्रह गरेको छ। अध्यागमन कार्यालयले सूचना प्रकाशित गर्दै आगमनसँगै दिइने भिसा (भिसा अन राइभल) जारी गर्दा तिर्नुपर्ने रकम साथमै बोक्न पर्यटकहरुलाई आग्रह गरेको हो।
अहिले त्रिभुवन विमानस्थलमा अध्यागमनले 'अन अराइभल' भिसा शूल्क बैंकबाट भुक्तानी लिने व्यवस्था गरिएको छ। ती बैंकले अमेरिकी डलर तथा अन्य सटही हुने मुद्रा मात्र स्वीकार गर्नेसमेत कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
विमानस्थलमा एउटा मात्र एटीएम रहेकाले सो एटीएममा पनि भीडभाड र अनेक प्राविधिक समस्या देखिँदै आएको भन्दै पर्यटकहरुले समस्या भोगिरहेको बताइएको छ। पर्यटकहरुले विद्युतीय माध्यमबाट भिसा कार्ड, मास्टर कार्ड र अन्यबाट भीसा शूल्क तिर्न समस्या देखिएको जनाइएको छ। शूल्क तिर्न समस्या हुँदा यात्रुहरु विमानस्थलमै लामो समय फस्ने समस्या भएको बताउँदै पर्याप्त पैसा बोक्न अध्यागमनले आग्रह गरेको हो।
भिसा शूल्क वापत लाग्ने कम्तिमा २०० अमेरिकी डलर बराबरको रकम बोकी विमानस्थलमा विद्युतीय भुक्तानीमा हुने समस्याबाट मुक्त हुन यात्रुलाई विमानस्थल स्थित अध्यागमन कार्यालयले जनाएको छ।
अध्यागमनको उक्त पत्र सार्वजनिक भएपछि अहिले आलोचना पनि भइरहेको छ।