PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

९० प्रतिशत नेपालीले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको दाबी



पहिलोपोस्ट

९० प्रतिशत नेपालीले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं : सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो। चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको उनले दाबी गरेका हुन्।

अधिकारीले लगभग ९५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेको र ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए।

‘लक्ष्य राखेअनुसार हामी अब ९० प्रतिशतभन्दा माथि ९४-९५ प्रतिशत खोप एक मात्रा लगाइसकेको छ। पूर्ण मात्रा तोकिएको समयभित्र सबैलाई लगाउन सकेको भए राम्रो हुन्थ्यो। यद्यपि, पूर्णमात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ। यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ’ अधिकारीले भने।

उनले चैत्र ३० गतेपछि खोप अभियान बन्द नभएको समेत बताए। संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरुलाई खोपको दायरा आउन र खोपको पहिलो मात्रा लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउन उनले आग्रह गरे।

उनले खोप खेर नगएको समेत बताए।

‘अहिलेसम्म खोप खेर गएको छैन। जुन म्यादभित्रमा खोप प्रयोग गर्नुपर्ने हो त्यो नै मितिमा खोप प्रयोग भइसकेको छ। हामीसँग रहेका केही खोपहरु अप्रिल महिनाभित्रमा लगाइसक्नु पर्नेछ। ती खोपहरुलाई टाइफाइड विरुद्धको खोप अभियानमा पनि समावेश गरेर विभिन्न ठाउँबाट लगाइरहेका छौँ। एउटा भाँडोमा १० जना वा ६ जनालाई पुग्ने गरेर खोप आउँछ, अब त्यो खोप ६ घण्टाभित्रमा नलगाए नष्ट गर्नुपर्ने हुन्छ। त्यही पनि हामीले खोप लगाउन आउनेहरुलाई लगाएर नै पठाएका छौँ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।

त्यस्तै लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४५१ जनाले खोपको एक मात्रा लगाएका छन्। लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५५७ डोख खोप प्रयोग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell