काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको टिकट बाँडफाँट गर्न नसकिरहेका बेला तीन नेताबिच छुट्टै छलफल भएको हो।
आइतवार बिहान सिंहदरबारमा दाहाल, भट्टराई र यादवबिच चुनावी तालमेलको विषयमा छलफल भएको हो। भेटपछि यादवले आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल भएको जानकारी दिए।
गठबन्धनमा तालमेलको गृहकार्य भइरहेको भए पनि निचोडमा भने पुग्न सकेको छैन। दलहरु आआफ्नो अडानबाट पछि नहटेपछि चुनावी तालमेलबारे नै प्रश्न उठिरहेको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले आफ्नो बलियो आधार क्षेत्रमा उम्मेदवारीको दाबी गरिरहेका छन्। भागबण्डाकै विषयलाई लिएर बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको थियो। उक्त बैठकले भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवारी टुंगो लगाउने सहमति गरेको थियो।