काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने बताएका छन्। आइतवार काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन समारोहमा उनले भ्रष्टाचार बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले आफूले जानेरै कसैसँग दुई पैसा पनि घुस नलिएको समेत बताए। उनले भ्रष्टाचार सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै नभएको बताए।
‘भ्रष्टाचार भनेको चाँही यो राष्ट्रियतासँग जोडिएको कुरा हो। यो बढदै गयो। हामीले खबरदारी गरेनौ भने यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइ दिन्छ’ उनले भने।
सापकोटाले कार्टुनमार्फत भ्रष्टचारको विरुद्धमा थप सशक्त ढंगले कदम चाल्नुपर्नेमा जोड दिए। भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने उनले बताए। साथै भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि उनले काटुर्निष्टहरुलाई आग्रह गरे।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ।