PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

दाइलाई ‘मर्न चाहन्नँ’ भन्दै म्यासेज पठाएको आधा घण्टामै अमृताले संसार त्यागिन्!



रमेश पराजुली

दाइलाई ‘मर्न चाहन्नँ’ भन्दै म्यासेज पठाएको आधा घण्टामै अमृताले संसार त्यागिन्!

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटेनरी लाइनकी २९ वर्षीया अमृता खत्रीको मृत्यु रहस्यमय बन्दै गएको छ। आत्महत्याको घटनामा एकपछि अर्को ‘क्लू’हरू बाहिर आउँदा घटना झन् शंकास्पद बन्दै गएको हो।

आत्महत्याबाट सुरु भएको अनुसन्धानको ‘ट्रयाक’ हत्यातिर मोडिएको छ। तर, प्रहरीको अनुसन्धान जारी रहेकाले घटनाको निचोड भने आइसकेको छैन।

अमृताका माइती पक्षले घटनामा घरपरिवारका व्यक्तिहरू नै संलग्न रहेको बताउँदै आएका छन्। यो आत्महत्या नभई सुनियोजित हत्या भएको भन्दै स्थानीय र आफन्तले घरपरिवारले नै विष खुवाएर अमृताको हत्या गरेको आरोप लगाएका छन्।

अमृताको गत बुधवार राति मृत्यु भएको थियो। तिलोत्तमा नगरपालिका-२ का प्रेम टण्डनसँग ९ वर्षअघि अमृताको विवाह भएको थियो। उनको घर र माइती करिब पाँच सय मिटरको दुरीमा छ। केही समय भारतमा मजदुरी गरेर बसेका प्रेम पाँच वर्ष यता भने तिलोत्तमामा बस्दै आएका छन्।

अमृताको मृत्युपछि प्रहरीले श्रीमान् प्रेम, ससुरा टहलसिंह टण्डन र सासु दीपा टण्डनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए।

‘घटनाको सूक्ष्म ढङ्गबाट अनुसन्धान भइरहेको छ। अनुसन्धान भइरहेको विषय भएकाले अहिले नै धेरै कुरा भन्न मिल्दैन। छिट्टै नै घटनाको वास्तविकता सार्वजनिक गर्छौँ,’ उनले भने।

अमृता र प्रेमबिच केही समयदेखि मनमुटाव रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घर परिवारले यसअघि पनि अमृतालाई सामान्य विषयमा पनि मानसिक र शारीरिक यातना दिने गरेको माइती पक्षले आरोप लगाएका छन्।

अहिले अमृताको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। माइती पक्षले विशेषज्ञ टोलीले मात्र पोस्टमार्टम गर्नुपर्ने माग गरेका छन्।

यसरी भयो घटना

बुधवार साँझ अमृता घरपरिवारले भारत जान दबाब दिएको तर आफूलाई षड्यन्त्र गरेर मार्ने योजना बनाएको आशङ्का रहेको भन्दै माइती पुगेकी थिइन्। श्रीमानले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी साँझ ७ बजेतिर घर फर्केको दाजु पुष्पक खत्रीले बताए।

घर पुगेपछि अमृताले दाजु पुष्पकलाई राति ९:१४ बजे ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो घर न घाटको। अब त्यो चेली कहाँ जाने?’ भन्दै मेसेज गरेकी छिन्। बहिनीको म्यासेज देखेपछि दाइले बहिनीलाई ‘के भयो बहिनी, खाना खाइस्’ भनेर मेसेज पठाएको खुलेको छ।

त्यसपछि अमृताले पुनः राति ९ बजेर ३० मिनेटमा सहयोगको याचना गर्दै दाइलाई ‘म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ। प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ। प्लिज दाइ! मलाई यहाँबाट निकालिहाल्नु, हेल्प गर्नु म निस्कन्छु।’ भन्दै ह्वाट्सएपमा मेसेज लेखेकी छन्।

बहिनीको मेसेज देख्ने बित्तिकै पुष्पकले ‘तँजस्तो मान्छेले मर्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइज कुरा गरौँला।’ भन्दै रिप्लाई गरेको खुलेको छ।

‘मेसेज रिप्लाई गरेको एकछिनपछि १० बजेर १५ मिनेटमा बहिनी लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको भनेर खबर आयो हामी अस्पतालमा पुग्दा बहिनीको मृत्यु भइसकेको थियो’, पुष्पकले भने, ‘यस्तो होला भन्ने भएत म राति नै बहिनीलाई लिन जान्थेँ नि, रातको समय भएकाले बहिनीलाई सम्झाउँदै भोलि आइज र कुरा गरौँला भनेँ, अहिले ठूलो पछुतो भयो।’

अमृताले विष सेवन गरेपछि उपचारका लागि प्रादेशिक अस्पताल लगेको श्रीमान् प्रेम टण्डनले बताएका छन्। प्रेमले अमृतालाई बिरामी भएपछि अस्पतालमा ल्याएको भनेर माइती पक्षलाई खबर गरेका थिए।

राति ९ बजेर ३० मिनेटसम्म दाजु पुष्पकलाई मेसेज गरेकी अमृताको त्यसको १० मिनेटमै ९ बजेर ५० मिनेट जाँदा अस्पतालले मृत्यु भएको ‘डेथ सर्टिफिकेट’ दिएको छ। अस्पतालमा नपुग्दै विष सेवन गरी मृत्यु भएको खबर आउनुले माइती पक्षले यो आत्महत्या नभई हत्या भएको भनिरहेको छ।

अमृताको मृत्यु किटनाशक विषादी ‘डीडी फैक्स’को प्रयोगबाट भएको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। भारतमा मात्र पाइने र नेपालमा खुल्ला रूपमा बिक्री गर्न नपाइने यो विषादी राति घर फर्किएकी अमृता आफैँले ल्याएर सेवन गर्ने अवस्था नभएकाले घरपरिवारले नै सुनियोजित रूपमा विष सेवन गराएको हुन सक्ने माइती पक्षको दावी छ। त्यो विषादी घरमा घरपरिवारले ल्याए कि अमृताले कहाँबाट ल्याइन् भन्ने अनुसन्धानको छुट्टै पाटो रहेको डीएसपी पौडेलले बताए।

सात महिनाअगाडि नै वडा कार्यालयमा भएको थियो मिलापत्र

घरपरिवारले सामान्य विषयमा पनि मानसिक र शारीरिक यातना दिन नछोडेपछि गत भदौमा अमृताले तिलोत्तमा-२ को वडा कार्यालयमा आफूमाथि हिंसा भएको भनेर निवेदन दिएकी थिइन्। निवेदन दिएपछि अमृता माइत बसेकी थिइन्। भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहवरमा छलफल भएको थियो।

छलफलमा अमृताले सम्बन्ध विच्छेद नै गर्ने बताएकी थिइन्। तर, वडा अध्यक्षसहित छलफलमा सहभागीहरूले घरको कुरा हो, यसरी आवेगमा आउनुहुन्न भनेर लिखित कागज गरेर मिलापत्र गराएका थिए।

उक्त पत्रमा अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने, सानो कुरामा हेलचेक्र्याइँ नगर्ने, खोट कमजोरी नदेखाउने सहमति भएको देखिन्छ। उक्त पत्रमा श्रीमान् प्रेम टण्डन, सासू-ससुरा र वडावासीको समेत हस्ताक्षर छ।

वडामा सहमति भएपछि अमृता घरमै गएर बसे पनि श्रीमान् र सास-ससुरासँगको सम्बन्ध राम्रो हुन नसकेको बताइएको छ। ९ वर्षअघि प्रेम विवाह गरेका अमृता र प्रेमबिच सुरुमा सम्बन्ध राम्रो थियो।

प्रेमका परिवार भारतमै रोजगारी गर्ने भएकाले विवाहपछि अमृता पनि श्रीमान् प्रेमसँगै भारत गएकी थिइन्। उनका ८ वर्षका एक छोरा छन्। करिब ४ वर्ष भारतमा बसेर उनीहरू नेपाल फर्किएका थिए। त्यसपछि उनीहरूको सम्बन्ध बिग्रिँदै गएको माइती पक्षको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell