PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गठबन्धनको भागबन्डा नमिल्दा तालमेल अन्यौलमा, कांग्रेसलाई 'बाइपास' गरेर बन्ला चुनावी मोर्चा?



प्रकाश भण्डारी

गठबन्धनको भागबन्डा नमिल्दा तालमेल अन्यौलमा, कांग्रेसलाई 'बाइपास' गरेर बन्ला चुनावी मोर्चा?

काठमाडौं : ६ महानगर र ११ उपमहानगरको भागबन्ड झन पेचिलो बन्दै गएको छ। सत्ता गठबन्धनका नेता स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा धेरै टिकट पार्न लबिङमा छन्। बलियो पकड भएको क्षेत्रमा अर्को दललाई नछाड्ने र कमजोर क्षेत्रमा भाग खोज्ने अडानबाट गठबन्धनका नेता पछि हटेका छैनन्।

चुनावी तालमेलको सकसले गठबन्धन अन्योलमा छ। २०७४ सालको स्थानीय तहमा दलहरुले पाएको मतलाई मुख्य आधार बनाएर तालमेलको मोडालिटीका लागि गृहकार्य गरिरहेका सत्ता घटक दलहरु आफूलाई कमजोर नठान्न एक अर्कालाई चुनौती दिइरहेका छन्। नेपाली कांग्रेसभित्र चुनावी तालमेल गर्न नहुने मत बलियो बन्दैछ भने नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले कांग्रेस बाहेकको गठबन्धनका लागि पनि गर्हकार्य गर्नुपर्ने बताइरहेका छन्।

कहिले लाग्ने टुंगो?

चैत २२, चैत २६ र वैशाख ४ गरि तीनपटक भागबन्डाको 'डेडलाइन' सारिसकेको गठबन्धनले आइतवार फेरि वैशाख ५ सम्म उम्मेद्वारी टुंग्याउने समयसीमा तोकेको छ। यद्यपि, गठबन्धनकै नेता भागबन्डा मिलाउन अझै समय लाग्ने बताइरहेका छन्। नेकपा माओवादी केन्द्रका नेता तथा चुनाव तयारी तथा अनुगमन समितिका सदस्य देव गुरुङले मनोनयनको समय अझै एक हप्ता बाँकी रहेकोले छलफलका लागि समय बाँकी रहेको बताए। भने,'अहिले त टाइम नै सकिएको छैन। टाइम सकिएपछि फाइनल भएपछि टुंगो लाग्छ।'

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले आफू अनुकूलको भाग खोजिरहेका छन्। चैत १७ गते चुनावी तालमेलको औपचारिक निर्णय गरेका पाँच दलले चुनावी गृहकार्यका लागि सबै तहमा राजनीतिक संयन्त्र गठन गरेको थियो। उक्त संयन्त्रलाई दलगत अवस्थाको बारेमा रिपोर्टीङ गर्न केन्द्रले निर्देशन दियो। केन्द्रमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको चुनाव तयारी तथा अनुगमन समितिले तालमेलको 'होमवर्क' गरिरहेको छ।

हुनत चैत १७ गते अघि नै चुनावी गठबन्धन गरेर जाने सत्तारुढ दलले अघोषित समझदारी गरिसकेका थिए। उक्त समझदारी अनुसार नै प्रतिनिधि सभामा फागुन १५ मा माओवादी र एकीकृत समाजवादीले आफ्नो पुरानो अडान बदलेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा पारित गर्न सघाए।

एमसीसीका बेला संकटउन्मुख बनेको गठबन्धनले व्याख्यात्मक घोषणा गरेर सहकार्यलाई निरन्तरता दियो। अहिले स्थानीय तहमा भागबन्डा मिलाउन फेरि गठबन्धनलाई सकस छ। देउवा गठबन्धनका लागि सकारात्मक भए पनि उनी इतर तथा स्थानीय कमिटीका नेता सत्ता गठबन्धनको विरुद्धमा उभिन थालेका छन्। जसको चुनौती चिर्न गठबन्धनलाई सजिलो छैन।

सानो दलको ठुलो दाउ

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभन्दा नेकपा एकीकृत समाजवादी कमजोर छ। जसपा र राजमोभन्दा केही बलियो अवस्थामा रहेको एकीकृत समाजवादीले पहिलोपटक स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादी आफूलाई कमजोर दल मान्न भने तयार छैन। त्यसैले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका नेतालाई चुनौती दिएका छन्, आफ्नो शक्तिलाई कमजोर नठान्न भन्दै। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले जितेका ठाउँमा आफ्नो पहिलो हक हुने एकीकृत समाजवादीको अडान छ। 'एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ। त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ। किनभने एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन्,'शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले भनेका थिए। तर, माओवादीको अडान समाजवादीको भन्दा भिन्न छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले जितेका ठाउँमा भागबन्डा र २०७४ को स्थानीय चुनाव जितेकै दललाई उम्मेदवारलाई अघि सार्नुपर्ने प्रस्ताव गरेका थिए।

गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस महानगर र उपमहानगरमा अधिकांश ठाउँमा आफ्ना पार्टीका उम्मेदवारलाई अघि सार्ने दाउमा छ। तर, त्यसलाई गठबन्धनका अरु दलले भने स्वीकारेका छैनन्। एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गर्दा जसपाले वीरगञ्ज महानगरमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले भरतपुर महानगरको नेतृत्वको लागि अड्डी कस्दा नेपाली कांग्रेसको स्थानीय कमिटी माओवादीलाई छोड्ने पक्षमा छैन। यस्तै, राजमोले पनि केही स्थानीय तहको नेतृत्वमा दाबी गरिरहेको छ।

भरतपुरमा कांग्रेस नेता तथा कार्यकर्ताले गठबन्धन भए विद्रोह गर्ने संकेत दिइसकेका छन्। यसबिच देशकै राजधानी रहेको काठमाडौं महानगरमा समेत नेपाली कांग्रेसले आफू एक्लै चुनाव जित्ने दाबी सहित गठबन्धन नगर्ने अडान राखेको छ। नेपाली कांग्रेस महानगर कमिटीका सचिव सुसन वैद्यले काठमाडौं महानगरमा गठबन्धन नहुने दाबी गर्दै भने,'काठमाडौंमा गठबन्धन गर्ने पक्षमा हामी छैनौँ। हाम्रो संगठन राम्रो छ। गठबन्धन गरेर हाम्रै कार्यकर्तालाई चिडाउने काम गर्ने पक्षमा महानगर कमिटी छैन।' आइतवार बसेको महानगर कार्यसमिति बैठकमा अधिकांश सदस्यहरुले वडा अध्यक्ष तहमै गठबन्धन गर्न नहुने मत राखेका थिए।

कांग्रेसलाई बाइपास गरेर बन्न सक्छ गठबन्धन ?

प्रचण्डले पटकपटक नेपाली कांग्रेसका नेताहरुलाई आफूलाई कमजोर नठान्न चेतावनी दिने गरेका छन्। गठबन्धनलाई तर्साउन प्रचण्डले एमालेसँग पनि चुनावमा सहकार्य हुनसक्ने बताएका थिए। तर, एमालेका नेताहरुले भने तत्काल माओवादीसँग सहकार्य नहुन भन्दै प्रचण्डको उक्त अभिव्यक्तिको 'च्याप्टर' नै क्लोज गरिदिए। यद्यपि, ओलीमाथि प्रचण्डले नेकपाकालीन आरोपहरु फिर्ता लिएको घोषणा गरे तालमेल हुनसक्ने एमाले नेताहरुले भन्न भ्याए। 

प्रचण्डको छविसँग राम्रोसँग परिचित प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलबारे पनि सतर्क छन्। यसअघिका निर्वाचनका गठबन्धनबाट पाठ सिक्नु पर्ने देउवा बेलाबेलामा बताउँदै आएका छन्। त्यसैले पनि एमालेसँग प्रचण्डले हात मिलाउन सक्ने भन्दै देउवाले सत्ता गठबन्धनको सहमति पत्रमा गठबन्धन बाहिरका दलसँग सहकार्य गर्न नपाइने उल्लेख गराएको बताइन्छ। २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले सरकारमै बसेर प्रतिपक्षी दल एमालेसँग हात मिलाएको थियो। जुन घटनालाई देउवाले माओवादीले दिएको धोकाका रुपमा बुझ्ने गरेको उनी निकट नेताहरु बताउँछन्।

देउवा चुनावी तालमेलका लागि सकारात्मक भए पनि कांग्रेसका अधिकांश नेता कार्यकर्ता त्यसको विपक्षमा उभिन थालेका छन्। कांग्रेस नेताको अभिव्यक्तिलाई काउण्टर दिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले अरु दलसँग पनि तालमेल हुनसक्ने शनिवार बताएका थिए।

भने,'कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ त्यो सँग हामी चुनावमा जान सक्छौं। पाँच वटै दलको बिचमा सहमती भएन भने जुन दलसँग सहमति हुन्छ। र हामीलाई आत्मविश्वास हुन्छ । हामी एक्लै पनि जित्न सक्छौँ भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ।' उनको उक्त अभिव्यक्तिले नै स्थानीय तहमा भागबन्डा मिलाउन गठबन्धनमा परिरहेको सकस छताछुल्ला हुन्छ।

समर्थन बटुल्दै प्रचण्ड 

आइतवार बिहान गठबन्धनका शीर्ष नेताले चुनावी तालमेलका बारेमा छलफल गरेको थिए। कार्यदललाई नै चुनावी तालमेल गर्न दिने निर्णय भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। तर, टिकटको भागबन्डा भने मिल्न सकेन आइतवार। उक्त बैठकपछि भने प्रचण्डले जसपाका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई माओवादीको संसदीय दलको कार्यालयमा बोलाएर चुनावबारे छलफल गरेका थिए। स्थानीय तहको निर्वाचनबारे प्रचण्डले भट्टराई र यादवसँग छुट्टै छलफल गरेका हुन्।

प्रचण्ड-नेपालले पछिल्लो समय कांग्रेससँग तालमेलका लागि चुनावमा कठिन हुने भन्दै आआफ्नो पार्टीमा ब्रिफिङ गर्ने गरेका छन्। कांग्रेसले नमानेमा अरु शक्तिहरुसँग मिलेर चुनावमा जानुपर्ने प्रचण्ड-नेपालको मत छ। आइतवार नै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले पनि प्रचण्ड-नेपाललाई भेटेका छन्। उनीहरुले पूर्ववर्ती सरकारका पालामा भएको आफ्नो पार्टीको तीनबुँदे सहमति कार्यान्वयनको प्रस्ताव गरेका थिए। बास्तोला र ओली अहिले विप्लवसँग असन्तुष्ट नेता हुन। विप्लव निकटका नेताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने अडान राख्दा वली र बास्तोला त्यसको विपक्षमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell