PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

अमृता खत्री मृत्यु प्रकरणः चार दिनपछि गरियो पोष्टमार्टम



पहिलोपोस्ट

अमृता खत्री मृत्यु प्रकरणः चार दिनपछि गरियो पोष्टमार्टम

बुटवलः रुपन्देही तिलोत्तमा नगरपालिका २ की अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको चार दिनपछि आइतबार पोष्टमार्टम गरिएको छ। रहस्यमय मृत्युका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देही र पीडित पक्षबीच छानविन गर्ने लिखित सहमतिपछि पोष्टमार्टम भएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्र रेग्मी, प्रवक्ता डिएसपी नवरत्न पौडेल र पीडित पक्षको उपस्थितिमा सहमति भएको हो।

बैठकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट घटनाको अनुसन्धान गर्ने, पोष्टमार्टम पीडितले चाहेकै अस्पतालमा गर्ने लगायतका सहमति भएको थियो।

अमृताको गत बुधबार राति मृत्यु भएको थियो। घरमा पुगेपछि अमृताले सहयोगको याचना गर्दै दाइलाई ‘म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ। प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ। प्लिज दाइ! मलाई यहाँबाट निकालिहाल्नु, हेल्प गर्नु म निस्कन्छु।’ भन्दै ह्वाट्सएपमा मेसेज लेखेको र दाईले सम्झाउँदै ‘भोलि भान्जासँग आइज अनि कुरा गरौँला’ भन्दै रिप्लाई गरेको खुलेको छ।

सोही दिन साँझ माइतबाट घरमा गएकी अमृताको राति ९:५० बजे बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। अमृताको मृत्यु किटनाशक विषादी ‘डीडी फैक्स’को प्रयोगबाट भएको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

भारतमा मात्र पाइने र नेपालमा खुल्ला रूपमा बिक्री गर्न नपाइने यो विषादी राति घर फर्किएकी अमृता आफैँले ल्याएर सेवन गर्ने अवस्था नभएकाले घरपरिवारले नै सुनियोजित रूपमा विष सेवन गराएको हुन सक्ने माइती पक्षको दाबी छ।

अमृताको मृत्युपछि प्रहरीले श्रीमान् प्रेम, ससुरा टहलसिंह टण्डन र सासु दिपा टण्डनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell