
काठमाडौँः अभिनेता पूर्णविक्रम शाह (पल) बाट पीडित भनिएकी किशोरीले बयान फेरेकी छिन्। आइतबार जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा पीडित किशोरीले आफ्नो बयान फेरकी हुन्। बकपत्रमा उनले अभिनेता शाहमाथि लगाएको आरोप झुटो भएको बताएकी छिन्। दबाब र प्रभावमा आफूले यस्तो बयान दिएको भन्दै सरकारी वकिलसमक्ष दिएको बयान विपरीत बकपत्र गरेकी हुन्।
आइतबार पीडितको बकपत्र भएको हो।
अभिनेता शाह भने जिल्ला अदालत तनहुँको आदेशले चैत १० गतेदेखि पूर्पक्षको लागि थुनामा छन्। उनी थुनाबाट नै आफ्नो मुद्दा लडिरहेका छन्।
आइतबार किशोरीले आफ्नो बयान फेरेपछि धेरैले अहिले पल शाहले सफाइ पाएको जस्तै बुझेका छन्। तर शाहले मुद्दाबाट सफाइ पाएका भने हैनन्। बकपत्रले मात्रै मुद्दाको अन्तिम निर्क्यौल हुने हैन।
तर पीडितकै बयानले अदालतमा ठूलो अर्थ भने राख्छ। बकपत्र फेरिँदा मुद्दा कमजोर बन्न सक्छ। तर अभिनेता शाहको पक्षमा नै फैसला जाने भन्ने होइन। जुन अहिले बझिएको छ।
जिल्ला अदालत तनहुँले शाहलाई पूर्पक्षको लागि थुनमा पठाउँदा मुख्य पाँच आधार बनाएको थियो। अहिले पनि त्यही आधार प्रमाणित गर्न सकेको खण्डमा शाहले सफाइ पाउन मुस्किल हुने देखिन्छ।
अदालती बयानमा पीडक भनिएका शाहले जबर्जस्ती करणी अस्वीकार गरेका छन्। तर, अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे पीडितकोमा गएको स्वीकार गरेका थिए। जसको औचित्य पुष्टि गर्न नसकेको भन्दै अदालतले शाहलाई थुनामा पठाउने आधार बनाएको थियो।
यस्तै पीडितले गरेको बयान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरुको बयानले समर्थन गरेको आदेशमा उल्लेख थियो। पीडितको र बयानमा सामेल अन्य व्यक्तिहरुको भनाईलाई समर्थित गरेको भन्दै अदालतले शाहलाई थुनामा पठाएको थियो। यही पाँच आधार शाहले उन्मुक्ति पाउन ग्राहो हुनेछ।
पीडित किशोरीले बयान फेर्दा उनलाई पनि कारबाही हुन सक्छ। केही दिनअघि अछाममा एक किशोरीलाई बयान फेरेको आधारमा भएको सजाय चर्चामा समेत छ।
त्यस्ता धेरै उदाहरण छन् जहाँ बकपत्र फेरिँदा जाहेरवाला नै कारबाहीमा परेका छन्।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ मा बयान फेर्नेलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।