
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ। रोमन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टोली सेभियामाथि ३-२ गोलअन्तरको पुनरागमन जित निकालेको हो।
खेलको २१ औं मिनेटमा घरेलु टोलीले इभान राकेटिचको गोलमा खेलमा अग्रता बनाएको थियो। लगत्तै २५ औं मिनेटमा एरिक लामेलाले गोल थप्दा पहिलो हाफमा सेभिया २-० ले अघि रह्यो। तर, दोस्रो हाफमा रियल मड्रिडले तीन गोल फर्कायो।
खेलको ५० औं मिनेटमा ड्यानी कार्भाजलको पासमा रोड्रिगोले गोल गर्दै मड्रिडको खाता खोले। कार्भाजलकै पासमा ८२ औं मिनेटमा न्याचोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै इन्ज्युरी समयमा रोड्रिगोको पासमा करिम बेन्जेमाले गोल गर्दा मड्रिडले नाटकीय पुनरागमन गर्दै खेल आफ्नो नजिक पार्यो।
जितसँगै मड्रिड उपाधिको नजिक पुगेको छ। ६ खेल बाँकी छँदा मड्रिडले शीर्षस्थानमा स्पस्ट १५ अंकको अग्रता बनाएको छ। मड्रिडले ३२ खेलबाट ७५ अंक जोडेको छ भने क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडले समान ६० अंक जोडेका छन्।