PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

२६ वर्षे उमेरमै सन्यास! ताजकिस्तानविरुद्धको खेल अन्तिम मानेका कप्तान श्रेष्ठ भन्छन् : जिम्मेवारीले थिच्दो रहेछ



मुकुन्द घिमिरे

२६ वर्षे उमेरमै सन्यास! ताजकिस्तानविरुद्धको खेल अन्तिम मानेका कप्तान श्रेष्ठ भन्छन् : जिम्मेवारीले थिच्दो रहेछ

बिस्केक :कीर्गिस्तानको राजधानी बिस्केकमा नेपाली राष्ट्रिय टोलीले चैत २९ गते अफगानिस्तानसँग प्रतियोगिताको अन्तिम खेल खेल्दै थियो। त्यसअघिका दुईवाट मैत्रीपूर्ण खेल र उज्बेकिस्तान र ताजिकिस्तानसँगको खेलमा नेपाली टोलीको कप्तानी गरेका अनिस श्रेष्ठ खेलस्थलमा जाने समयमा गम्भीर सुनिए। उनले भनेका थिए, 'म आज अन्तर्राष्ट्रिय खेल अन्तिमपटक खेल्न गइरहेको छु।' उनले जे विषय सेयर गरे त्यो खेलका अफिसियलसँग गरेका रहेनछन्। जुन खेललाई उनी अन्तिम मानेर मैदानमा जाँदैथिए त्यो खेलमा भने उनी टिममै परेनन्। अफगानिस्तानसँगको अन्तिम खेल प्रशिक्षक गौरव बस्नेतले नयाँ खेलाडीलाई अनुभव दिलाउने रणनीति लिएकाले अनिसले सोचेको अन्तिम खेल अन्तिम बन्न सकेन।

उक्त प्रतिस्पर्धामा अफगानिस्तानले नेपाललाई ८-१ गोलअन्तरले हरायो। त्यसअघिका उज्बेकिस्तान र ताजकिस्तानसँगको खेलमा पनि पराजित बन्दै नेपाली टोली बाहिरिसकेको थियो। त्यसअघिका दुईवटा मैत्रीपूर्ण खेलमा कीर्गिस्तानका स्थानीय क्लबसँग पराजय ब्यहोरेको नेपाल रित्तो हात नेपाल फर्कियो। नेपाल फर्किएसँगै श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूले राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेको सार्वजनिक गरे।

२६ वर्षे उमेरमै सन्यासको घोषणा गरेका उनी ललितपुरको हात्तीवन बस्छन्। उनकै स्टाटसमा एकजनाले किन यति छिटै सन्यास लिएको भन्ने प्रश्नमा ठट्टा गरेका छन् - अब बुढो भइयो।

राष्ट्रिय टिमका सिनियर खेलाडीमध्येका एक हुन् उनी। सन् २०१७ बाट नेपालले फुटसलमा सहभागिता जनाउन सुरु गर्दा उनी टिममा थिए। फुटसलमा उनी लागेको चाहिँ दशक कटिसकेको थियो।

'नौ वर्ष अघि प्रकाश परियार दाइले हात्तीवनमा फुटसल खोल्नु भएको थियो। उहाँले फुटसल खोलेपछि ल खेलौं न त भनेर टिम बनाउने क्रममा विंगर खेल्थेँ,' उनले सम्झिए, 'तर टीममा गोलकिपर आवश्यकता थियो। दाइले गोलकिपर खेल्नुपर्छ भाइ भन्नुभयो। हामीले एउटा टिम पनि बनायौं। त्यो टिममा आएर खेल्दाखेल्दै फुटसल नै भनेर हिँडियो।'

फुटसल खेल्नका खातिर उनले धेरैका भनाइ टेरेनन्। घरमा जेठो दाइको सपोर्ट थियो खेल्नका लागि। राष्ट्रिय टोलीमा पुग्न उनले बेजोडले पसिना बगाएका थिए।

'मेरो जेठो दाइले ब्रिगेड ब्वाइज क्लबबाट उमेर समूहमा खेलेको हो। घरमा सपोर्ट दाइबाटै भएको हो नत्र धेरैले खेलेर काम छैन नै भन्थे,' उनले फुटसल करिअरबारे सुनाए, 'अहिले चाहिँ खेल्दै आउँदा तीन पटक राष्ट्रिय टोलीमा पर्दा हुने रहेछ भन्ने पनि भयो।' तर, त्यतिले किन पुग्थ्यो। वर्षमा एक पटक यस्ता प्रतियोगितामा खेलेर मात्र आवश्यकताअनुसार विकास किन हुन्थ्यो?

सुरुमा मेडल र सम्मानका हिसाबले फुटसल उनका लागि सबैथोक भयो। 'घरमा मेडल लाँदा त सबैको आमाबुवा खुशी हुन्छन् नि। तर, मेडलमात्रै सबैकुरा पनि होइन। अस्तिको लिगमा रेलिगेट भएका टिमका खेलाडीलाई पनि टिभीमा उनीहरुका बुवाआमाले देख्दा त खुशी भए,' उनले भने, 'मान्छेका नकारात्मक कुरहरु मैले धेरै फेस गरेँ। जे होस् खेल्छु भनेर हिँडेको हुँ।'

खेलकुदमा अघि बढ्दै गर्दा जिम्मेवारीले थिचेको अनुभव पनि गर्दै गए। एउटा उमेरसम्म ठीकै लागि पनि दायित्व बढ्दै जाँदा र दिगो आय हुने व्यवसायको अभाव महसुस गर्न थाले।

'सायद १९ देखि २४ वर्षको उमेरसम्म खेल्छु भन्ने जोश हुन्छ तर त्यसपछि घरेलु समस्या पनि त आउँछन्। काँधमा जिम्‍मेवारी आएपछि चाहिँ गाह्रो हुन्छ। म अहिले २६ वर्षको भएँ,' उनले सुनाए, 'इन्टरनेसलमा मेरो ताजकिस्तानसँगको अन्तिम हो। घरेलु प्रतियोगितामा सायद खेल्छु होला तर राष्‍ट्रिय टोली नै भनेर चाहिँ हिँड्दिन।'

उनले सन्यास लिनुको कारण फेसबुकको कमेन्टमा लेखेजस्तो 'बुढो' भएर चाहिँ होइन। उनी गफ गर्दा गर्दै कुरा लुकाउन चाहिरहेका थिए तर सकिरहेका थिएनन्।

'अब अन्तर्राष्ट्रियस्तरको कुरा गर्दा दुई वर्षमा एउटा प्रतियोगिता हुन्‍छ। त्यसमाथि एक महिनाको ट्रेनिङ गरेर खेल्न आउनुपर्छ,' उनले गुनासोको पोको खोले, 'त्यस हिसाबले धेरै नै गाह्रो हुन्छ। फुटसल त मनमै छ। छोड्न सकिँदैन तर एउटा व्यवसायमा जोडिने निर्णय लिएको छु।'

त्यसो त उनले फुटबल पनि नखेलेका होइनन्। खुमलटार क्लबबाट बी डिभिजन लिगसम्म खेलेका हुन्। यद्यपि फुटबल र फुटसललाई फरक विधा हो।

'फुटबलको तुलनामा फुटसल टेक्निकल्ली र फिजिकल्ली टफ गेम हो यो। फुटबलमा समय लिएर खेल्न सकिन्छ। फुटसल भनेको चाहिँ मोमेन्टमा एकदमै क्लिक गर्नुपर्ने हुन्छ,' उनले अन्तर सुनाए, 'फुटसल भनेको एकदम मोमेन्टम क्लिक हुने खेल हो। नतिजा के हुन्छ भन्नै नसकिने। एकछिन अगाडिसम्म ६ गोल हानिरहेको टिमले ७ गोल खान पनि सक्छ। ७ खाइरहेको टिमले ८ गोल हान्न पनि सक्छ।'

उनले यसको उदाहरण दिए आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल अर्थात् ताजकिस्तान विरुद्धको खेलबारे। 'ताजिकिस्तानसँगैको खेलमा पहिलो हाफ १-१ को बराबरीमा रोकेर पनि दोस्रो हाफमा १० गोल खान पुगियो। मोमेन्टमको कुरा हो,' उनले सुनाए, 'पहिलो हाफमा विजयले रेड कार्ड खायो। उ एकदमै राम्रो खेलाडी थियो। त्यसो भएपछि हाम्रो फिक्सोमा खटपट देखियो। पाँच देखि ६ जनाबाहेक खेलाडी प्रयोग भएनन्। खेलाडी धेरै थाके। म्यानमार्किङ छुटिरहेको थियो। नयाँ खेलाडी प्रयोग गर्ने अवस्था थिएन। त्यसपछि मोमेन्टम बिग्रियो।'

बिस्केकस्थित होटल गार्डनमा बसेर कुरा गरिरहँदा उनले ताजकिस्तानसँगको खेललाई बज्रपातको रुपमा वर्णन गरेका थिए।

'ताजकिस्तानसँगको खेललाई म बज्रपात भन्न चाहन्छु। पहिलो हाफको हिसाबले जित्नुपर्ने थियो। पाएको अवसर सदुपयोग भए धेरै सजिलो हुन्थ्यो,' उनले सुनाए, 'अहिले त हामी आँफैले सिकेको कुरामा खेलिरहेका थियौं। तर यदि यसमा एउटा अन्तरार्ष्ट्रिय कोच आउनु र युट्युबमा हेरेर सिक्नुमा धेरै फरक हुन्छ नि। कलेज गएर पढ्नु र अनलाइन पढ्नुमा फरक हुन्छ। सम्भावना धेरै छ। साफ हुने हो भने बलियो टोली नेपाल नै हुन्छ होला।'

यही बज्रपात परेको खेललाई पनि उनले विश्लेषण गरेका छन् र कमजोरी देखेका छन्।

'हाम्रो धेरै कुरामा कमजोरी छन्। यसपटक पनि ७-८ जना खेलाडी राम्ररी प्रयोग भएजस्तो मलाई लाग्दैन,' उनले भने, 'इन्स्ट्रक्सनले धेरै अर्थ राख्छ। लगातार गोल खाएको बेलामा टाइमआउटको आवश्यकता हुन्छ। त्यो बाहिरबाट लिन पर्थ्यो। दवाबमा मैले पनि भेउ पाउन सकिन। टाइमआउट लिएको भए खेलको फ्लो फेरिन्थ्यो कि?'

तुलनात्मक रुपमा नेपाली फुटसल सुधारोन्मुख भए पनि अझ राम्रो हुनसक्ने उनको विश्वास छ।

'२०१९ को तुलनामा यसपाला टिम राम्रो देखिए पनि खेलाडी प्रयोग हुन सकेनन्। २०१७ मा त स्वयम्भूको मनाङ ट्रस्टमा खेलेर जाँदा त्यहाँको फिल्ड नै हामीलाई डबल जस्तो अनुभव भएको थियो,' उनले विगतको अनुभूति सेयर गरे, 'समग्रमा विकास हुँदै आइरहेको छ। पहिलो जित निकाल्न अझै सकिएको छैन।'

फुटसलमा नियमित घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय सहभागिता नहुँदा एउटा प्रतियोगिता खेलेका खेलाडी अर्को प्रतियोगिता हुने समयसम्म फुटसलमा नरहने अवस्था देखेका छन् उनले जुन दुर्भाग्यपूर्ण ठान्छन्।

'टिममा फ्लक्चुएसन धेरै हुन्छ। उज्बेकिस्तानको टिम हेर्नुहोस् धेरै खेलाडी पुरानै छन्। हाम्रोमा नयाँ खेलाडी धेरै छन्। घरेलु लिग कम हुनाले प्लेयर ब्यस्त हुने वातावरण नहुँदा कठिन हुन्छ,' उनले सुनाए, 'मैले पनि आफ्नै एउटा व्यवसाय सुरु गरेको छु। मेरो पनि यो अन्तिम खेल नै ताजकिस्तानसँगको रह्यो।' घरेलु लिग राम्रो भइदिने र खेलाडी ६ महिनादेखि ९ महिना ब्यस्त हुन सके एउटा टिम बनाएर लैजाँदा फुटसलमा छिटो परिणाम हात लाग्ने उनको बुझाई छ।

गएको वर्ष पोखरामा नेपाल फुटसल लिग आयोजना भयो। लिगले गर्दा खेलाडीलाई फुटसलको आधारभूत कुराहरु सिक्न सहयोग मिलेको उनले देखेका छन्। नेपालमा फुटसलको अन्तर्राष्ट्रिय मापदण्डको मैदान नभएको देख्छन् उनी।

हुन त अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कीर्गिस्तान खेलाडी विदाइ गर्दैगर्दा फुटसलको लागि कभर्डहल बनाउन आफूहरु जग्गा खोजीमा रहेको बताएका थिए। एन्फा निर्वाचन नजिकिँदै गर्दा यसरी आश्वासन आए पनि व्यवहारमा लागू कहिले होला भन्न सकिन्न।

'फुटसलमा सुधार भए टिक्न गाह्रो हुँदैन। माल्दिभ्सले यसपटक भाग लियो। दक्षिण एसियाका अरु देशले पनि भाग लिने हो भने साफ हुन्छ। त्यो हिसाबले हेर्ने हो भने चाहिँ सकिन्छ,' उनले सम्भावना केलाउँदै सुनाए, 'सम्भावना बोकेको छ। इन्टरनेसनल कोच चाहिन्छ। फुटसल नै खेलेर फुटसल नै टिम हेरेर आएको मान्छे छैन। हाम्रो विडम्बना पनि हो यो। दुई चारवर्ष खेलेको खेलाडीले अब हेर्छु भनेर पनि हुँदैन। राम्रो इन्टरनेसनल कोच र राम्रो डोमेस्टिक लिग हुने हो भने नेपालको सम्भावना राम्रो देख्छु।' अभावकै बिच पनि पछिल्ला तीन प्रतियोगितामा नेपालले क्रमश प्रदर्शनलाई सुधारेको मान्छन् उनी।

'उज्बेकिस्तान भनेको विश्ववरीयतामा २७ औं स्थानमा रहेको टिम हो। हामी त वरीयता पनि पाइनसकेको टोली हौं। त्यो टिमलाई ५-१ ले रोकियो। पहिलो पटक १४-१ टोलीले पनि हारिएको थियो। नसकिने भन्ने होइन,' उनले भने।

सम्भावनाहरु हुँदा हुँदै पनि अनिस फुटसलमा मात्रै केन्द्रित हुने अवस्थामा रहेनन्। राम्रो खेल देखाउने रहर बोकेर जाँदा अन्तिम खेलको घोषणा गर्नसमेत उनले सहजै पाएनन्। खेलमा टिकिरहन परिस्थितिले दिएन। भर्खर पाइला सार्दै गरेको फुटसलका खेलाडी अनिसले जे अनुभूति गरे त्यो कुनै पनि विधाका नेपाली खेलाडीहरुले अनुभूति गरिरहेकै विषय हो। यति चाहिँ पक्का हो खेलाडीले बैकल्पिक पेशा खोज्नुपर्ने दिन रहेसम्म कुनै पनि प्रतियोगितामा नेपालले जमेर आफ्नो उपस्थिति देखाउन सक्दैन – चाहे त्यो फुटसल होस् या फुटबल नै किन नहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell