.jpg)
काठमाडौं : सत्तारुढ गठबन्धनको काठमाडौं जिल्ला अध्यक्षहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा जिल्लाका पालिकाहरुमा तालमेलको सम्भावना तत्काल नरहेको निष्कर्ष निकालेको छ। आइतवार बसेको गठबन्धन दलका जिल्ला अध्यक्षहरुको बैठकमा तत्काल निर्वाचनमा तालमेल गर्न सिट बाँडफाँडमा सहमति जुटाउन नसकेको हो।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले सिट बाँडफाँटको सम्बन्धमा सहमति हुन नसकेको बताए। तर स्थानीय तह देखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धन भने आवश्यक रहेको निष्कर्ष निकालिएको उनले बताए।
‘अहिले तालमेलको सम्भावना रहेन। तर स्थानीय , प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा गठबन्धन अत्यावश्यक भएको राय सहित आ- आफ्नो दलको माथिल्लो तहमा जानकारी गराउने निर्णय भएको छ,’ उनले भने।
देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार उठाउन चाहेको छ। तर, गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका स्थानीय नेताहरुले भने महानगरमा पनि दाबी गरिरहेका छन्। यस्तै, अन्य पालिकाहरुका बारेमा पनि सहमति जुट्न सकेन।
नेपाली कांग्रेस महानगर कार्यसमितिको बैठकले पनि निर्वाचनमा तालमेल हुन नसक्ने बताइसकेको छ। कार्यसमिति सचिव सुसन वैद्यका अनुसार वडा तहै तालमेल गर्न नहुने मत पार्टीभित्रबाट आएको छ।
महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन आज सत्तागठबन्धनको आज बैठक बसिरहेको छ। ६ वटा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाटै दाबी गरिएको छ। तर, गठबन्धनका अन्य दल भने महानगर र उपमहानगर भागबन्डा गर्ने पक्षमा छन्। नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका महानगरपालिकामा दाबी गरिरहेको छ भने एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा दाबी गरेको छ। यस्तै, जसपाले वीरगंज महानगरपालिकामा दाबी गरिरहेको छ। कांग्रेसका स्थानीय नेताहरु भने तालमेलको पक्षमा छैनन्।