काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेता सहित चुनाव तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसिरहेको छ। स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन गठबन्धनका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका हुन्।
आइतवार बसेको शीर्ष नेता तथा समितिको बैठकले आज उम्मेदवार टुंगो लगाउने सहमति गरेको थियो। महानगर र उपमहानगर केन्द्रबाट टुंगो लगाउने गृहकार्यमा रहेको गठबन्धनलाई भागबन्डा मिलाउन सकस परिरहेको छ।
कांग्रेसले अधिकांश महानगरमा आफ्नै पार्टीका उम्मेदवारलाई मेयरको टिकट दिने तयारी गरेपछि गठबन्धनभित्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाइरहेका छन्। ६ महानगरमध्य कम्तिमा पनि एउटामा आफूले नेतृत्व पाउनुपर्ने माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको माग छ। तर, कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु उक्त प्रस्तावप्रति सहमत छैनन्। कांग्रेसका स्थानीय तहका कार्यसमितिहरु पनि तालमेलको विपक्षमा छन्।
चैत १७ गते नै चुनावी तालमेलको सैद्धान्तिक सहमति जुटाएको गठबन्धनले टिकट बाँडफाँट भने गर्न सकेको छैन्। टिकट वितरणमा सकस हुँदा स्थानीय कमिटीहरु पनि अन्यौलमा परेका छन्।
अब स्थानीय तह निर्वाचनको मनोनयनका लागि तोकिएको वैशाख ११ र १२ गते आउन केही दिन मात्रै बाँकी छ। समय नजिकिएसँगै उम्मेदवार तय गर्न गठबन्धनमाथि दबाब बढेको हो।