PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

फ्रान्सेली राष्ट्रपति निर्वाचन : जसको परिणामले युक्रेन मामिलामा बदल्ने छ नीति



पहिलोपोस्ट

फ्रान्सेली राष्ट्रपति निर्वाचन : जसको परिणामले युक्रेन मामिलामा बदल्ने छ नीति
Photo: ft.com

युरोप यतिबेला युक्रेन युद्धको चपेटामा छ। अर्कोतिर फ्रान्सको निर्वाचनले युरोपको आगामी मार्गलाई दिशानिर्देशन गर्नेछ।

अफ्रिल २४ मा फ्रान्समा दोस्रो चरणको राष्ट्रपति निर्वाचन हुँदैछ। यो निर्वाचनलाई सन् २०१७ को ‘रिम्याच’को रुपमा हेरिएको छ। सन् २०१७ मा नयाँ अनुहारका रुपमा आएका इमान्युएल म्याक्रोनले कट्टर दक्षिणपन्थी मरिन ले पेनलाई हराएका थिए।

पाँच वर्षपछि सन् २०२२ मा पनि उस्तै प्रतिस्पर्धा चलिरहेको छ। ले पेन र म्याक्रोनबिच। यसपटकको प्रतिस्पर्धा भने २०१७ को जस्तो छैन। भिन्न छ।

फ्रान्सेली मतदाताले आफ्नो राष्ट्रपति चुन्न दुई चरणमा मतदान गर्नुपर्नेछ। पहिलो चरणको मतदान गत आइतवार सम्पन्न भएको थियो। १२ उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। ५०० मेयर तथा स्थानीय परिषद् सदस्यहरुबाट चुनिएकाहरु प्रतिस्पर्धामा थिए। पेन र म्याक्रोनले अधिक मत प्राप्त गरे पनि कसैले पनि ५० प्रतिशत मत पाउन सकेनन्। अब अप्रिल २४ आइतवार दोस्रो चरणको मतदान हुनेछ।

यस वर्ष फ्रान्समा हुने यो एउटा मात्र मतदान होइन। आगामी जुनमा त्यहाँ संसदीय निर्वाचन पनि हुँदैछ।

पहिलो चरणमा भएको निर्वाचनमा मध्यपन्थी म्याक्रोनले २७.८ प्रतिशत मत ल्याउँदा पेनले २३.२ प्रतिशत मत ल्याएकी छन्। त्यही कट्टर वामपन्थी नेता जिन लक मेलेनचोनले २२ प्रतिशत मत ल्याएका छन्। निर्वाचन अगाडि म्याक्रोन र ले पेनले अब एक बहसमा सहभागी हुनेछन्। बहसलाई फ्रान्स २ र टीएफ १ ले अप्रिल २० मा प्रशारण गर्नेछन्।

पहिलो चरणको निर्वाचनमा राजधानी पेरिस आसपासका मजदुर वर्गले वामपन्थी उम्मेदवारलाई मतदान गरेका छन्। साथै, देश बाहिर रहेकाहरुको रोजाइमा पनि वामपन्थी उम्मेदवार परेका छन्। यद्यपि, उनी दोस्रो चरणमा पुग्न भने सकेनन्। यस वर्षको पहिलो चरणको मतदानमा म्याक्रोन र ले पेन दुवैले मत बढाएका छन्।

यो मतदानमा म्याक्रोनले जिते भने २० वर्षपछि पुन: राष्ट्रपतिमा निर्वाचित हुने पहिलो नेता बन्नेछन् उनी। यद्यपि, युक्रेनमा रसियाको आक्रमणपछि फ्रान्सको निर्वाचनलाई युक्रेन संकटसँग जोडेर हेर्न थालिएको छ।

म्याक्रोन यतिबेला युक्रेन मामिलामा युरोपकै नेताको रुपमा उभिएका छन्। अर्कोतिर ले पेन भने पुटिनसँगको सम्बन्ध विस्तारलाई जोड दिँदै आएकी छन्।

ले पेन आफैँमा फ्रान्सको चर्चित अनुहार हुन्। उनी फ्रान्सको नेशनल फ्रन्टका संस्थापक जेन मारिया ले पेनकी छोरी हुन्। उनले केही विवादास्पद् नीति प्रस्ताव गरेकी छन्। उनी फ्रान्सलाई युरोपियन युनियनबाट अलग गराउन चाहन्छिन्।

सन् २०२२ सम्म आइपुग्दा उनले त्यहाँको निर्वाचनमा हालसम्मकै उत्कृष्ट प्रदर्शन गरेकी छन्। उनले लडेका तीन निर्वाचनमध्ये २०२२ को पहिलो चरणको निर्वाचनमा उनले धेरै मत प्राप्त गरेकी छन्।

दोस्रो चरणको निर्वाचन अगाडि ले पेनले आफ्नो पोस्टर सार्वजनिक गरेकी छन्। ‘सबै फ्रान्सेली जनताका लागि’ भन्ने नाराका साथ उनको पोस्टर सार्वजनिक भएको छ।

यसअघि उनको पोस्टरमा उनको मुस्कानसहितको तस्विरमाथि ‘राजनायिका (स्टेटओमन)’ राखिएको छ। उस्तै मुस्कानसहितको तस्विरसहित अहिले ‘सबै फ्रान्सेली जनताका लागि’ भन्ने नारा राखिएको छ

पहिलो चरणको मतदान हेर्दा म्याक्रोन युवाहरु भन्दा वृद्ध मतदातामाझ लोकप्रिय देखिएका छन्। म्याक्रोन १८-३४ वर्ष उमेर समूहका फ्रान्सेलीसँग टाढिँदा ७० माथिका मतदाता माझ लोकप्रिय देखिएका छन्।

१८-३४ उमेर समूहमा वामपन्थी उम्मेदवार चर्चित देखिएका छन्। यो उमेर समूहका मतदाताको दोस्रो रोजाइमा ले पेन छन्। त्यस्तै, ३५-५९ माझ ले पेन लोकप्रिय देखिएकी छन्

पहिलो चरणमा वामपन्थी उम्मेदवारलाई मतदान गरेका युवा उम्मेदवारले म्याक्रोन वा ले पेन कसलाई रोज्नेछन् भन्ने कुराले निर्वाचन परिणामलाई निर्धारण गर्नेछ।

कस्तो छ ले पेनको विदेश नीति?

यदी निर्वाचनमा ले पेनले जित हात पारे फ्रान्सको विदेश नीति अहिलेको नीति भन्दा विपरित ध्रुवमा हुनेछ। हाल म्याक्रोनको विदेश नीति ईयूलाई मजबुत बनाउँदै लैजाने देखिन्छ। तर, ले पेनको नीति त्यसको ठिक विपरित छ

ले पेनको सीमा नियन्त्रण नीति युरोपियन युनियनको स्वतन्त्र आवातजावत नीति विरुद्ध छ। उनको समर्थन फ्रान्सेली कामदारको रक्षामा बढी केन्द्रित छ।

त्यस्तै, ले पेनको नेटोसम्बन्धि नीति पनि म्याक्रोन भन्दा फरक छ। उनले अरुको विवादमा नअल्झिने नीति ल्याएकी छन्। अहिले नेटो युक्रेन मामिलामा सक्रिय हुँदा फ्रान्स पनि अगाडि छ। उनले युक्रेन मामिलामा फ्रान्सले हतियार पठाएर अनावश्यक युद्धमा मुछिएको प्रतिक्रिया दिएकी छन्।

उनको जीतले पछिल्लो विश्व व्यवस्थामा पनि प्रभाव पार्ने छ। युक्रेनमा भइरहेको संकटमा पनि यसको असर पर्ने देखिन्छ। उनी रसियासँगको साझेदारीबाट फाइदा लिनुपर्ने लाइनमा छन्। रसिया-चीन सम्बन्ध बढिरहेको बेला आउन सक्ने चुनौतीलाई नियन्त्रण गर्न पनि रसियासँग सम्बन्ध बढाउनुपर्ने उनको लाइन छ।

‘रसिया-युक्रेन युद्ध शान्तिपूर्ण संवाद र सन्धीमार्फत समाप्त हुने बित्तिकै म नेटो र रसियाबिचको रणनीतिक मेलमिलापको कार्यान्वयनको लागि आह्वान गर्नेछु,’ उनले यसै साता आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्

‘रसियासँगको असल सम्बन्धले मस्कोलाई बेइजिङसँग नजिक हुन रोक्ने छ’, उनले भनेकी छन्, ’यो कुरा फ्रान्स युरोपको स्वार्थ अनुरुप मात्र नभई अमेरिकाको पनि स्वार्थ अनुरुप हुनेछ। किनकी उनीहरुले चीन-रसिया नजिकको सम्बन्ध देख्न चाहन्नन्।’

उनले सन् १९६६ मा नेटोबाट हट्ने फ्रान्सको नीतिलाई निरन्तरता दिने बताएकी छन्। नेटोमा फ्रान्स २००९ मा पुनः प्रवेश गरेको थियो।

‘म हाम्रो टुकडीलाई न त नेटोको एकीकृत कमाण्डमा न त भविष्यको युरोपियन कमाण्डमा राख्ने छु’, उनले भनेकी छन्। ले पेनले फ्रान्स अमेरिकाको स्वार्थ रक्षा गर्न तयार नरहेकोसमेत बताएकी छन्।

के उनले जित्छिन् त?

अहिले भइरहेका प्रारम्भिक सर्वेक्षणले म्याक्रोन झिनो मतान्तरले जित्ने देखिएको छ। यद्यपि, निर्वाचनमा कसले जित्छ भन्ने निर्धारण वामपन्थी मतले निर्धारण गर्नेछ। एक सर्वेक्षणले वामपन्थी मतदातामध्ये ४४ प्रतिशतले दोस्रो चरणमा भोट नहाल्ने प्रतिक्रिया दिएका छन्। त्यस्तै ३३ प्रतिशतले म्याक्रोन र २३ प्रतिशतले ले पेनलाई रोजेका छन्

पछिल्लो निर्वाचन अभियानमा म्याक्रोनले ले पेनविरुद्ध पुटिनसँगको सम्बन्धलाई लिएर आक्षेप लगाउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell