
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई भरतपुरकै मेयर चाहिने भन्ने नभएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने बताएका हुन्।
‘भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन। गठबन्धनमा ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि। काठमाडौंमा दिए नि ठिक, विराटनगर दिए नि ठिक, भरतपुर हुन्न भन्ने भए पनि सहमत,’ उनले भने।
भरतपुरमा माओवादी केन्द्रले जितिरहेको भन्दै उनले कांग्रेसले पनि माओवादी केन्द्रलाई नै दिनुपर्छ भनिरहेको बताए। तर, केही-केहीलाई मात्र त्यस्तो नलागेको हुन सक्ने उनले बताए।
प्रचण्डले एमाले र राप्रपाप्रति इंगित गर्दै भने, ‘एउटा गठबन्धन होली-वाइन वाला र राजावादी प्रतिगामीहरुको अर्को गठबन्धन संविधान रक्षा गर्नेहरुको हो।’
प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकार र गठबन्धन संविधान रक्षा गर्न बनेको समेत दावी गरे।
एउटै पार्टीभित्र पनि टिकट नपाउनेले बागी उठ्ने सम्भावना हुने भन्दै उनले त्यसले ठूलो प्रभाव नपार्ने बताए। वडा अध्यक्ष जसको छ त्यसकै चुनाव चिन्हबाट उठ्ने विषयमा सम्भव छ कि भनेर छलफल चलेको उनको भनाइ छ।