
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेता सहित चुनाव तयारी तथा अनुगमन समितिको दोस्रो बैठकले भागबन्डाको टुंगो लगाउने तयारी गरेको छ। सोमवार विहानदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाउने एजेण्डामाथि छलफल भएको थियो।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगरको नेतृत्व दिनेबारेमा बैठकमा प्रस्ताव भएको राष्ट्रिय जनमोर्चाका नेता तथा समितिका सदस्य हिमलाल पुरीले जानकारी दिए। तर, प्रस्तावमाथि सहमति जुटन भने सकेन।
दोस्रो बैठकमा उक्त प्रस्तावमाथि सहमति जुटाउने प्रयास हुने नेताहरुले बताएका छन्। 'सहमति भइसकेको छैन। विभिन्न खालका प्रस्तावहरुमाथि छलफल भएको हो,'उनले भने।
६ महानगर र ११ वटा उपमहानगरबारे गठबन्धनमा रहेका दलहरुले आआफ्नो दावी गरिरहेका छन्। बिहानको बैठकमा भएको छलफलबारे आआफ्नो पार्टीमा रिपोर्टिङ गरेर फेरि बैठक बस्ने तय भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोमवार साँझसम्म भागबन्डाको टुंगो लाग्ने बताएका छन्। माओवादीले भरतपुर महानगरमा, एकीकृत समाजवादीले पोखरा महानगरमा र जनता समाजवादीले वीरगंज महानगरको मेयरमा लागि दाबी गरिरहेका छन्। तर, नेपाली कांग्रेसले अधिकांश महानगरको नेतृत्व आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ।
चैत १७ गते औपचारिक निर्णय गरेर भागबन्डाको गृहकार्यमा जुटेको गठबन्धन निर्वाचन आयोगले तोकेको वैशाख ११ र १२ गतेको उम्मेदवारी मनोनयनको नजिक आइपुग्दा पनि अनिर्णित रहँदै आएको छ।