
काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि वैदेशिक सहायताको आह्वान गरेको भएपनि कुनै पनि देशले सहयोग नगरेको बताएको छ।
सोमवारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विकास साझेदार संस्थाहरुसँग सहायताका लागि आह्वान गरिएको तर कुनै पनि संस्थाबाट नगद तथा जिन्सी सामान सहयोगको प्रतिवद्धता नआएको जानकारी दिए। सहयोग प्राप्त नभएपछि नेपाल सरकारकै बजेटबाट सबै सामानहरु आयात गरिएको आयोगले जनाएको छ।
‘आयोगले नेपाल सरकारको पूर्ण बजेटमा निर्वाचन गर्न प्रस्ताव गरेको हो। तर, विकास साझेदार संस्थाबाट आए यो पैसा बचेत हुने थियो। आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा सबै दातासँग जुम मिटिङ गरेको थियो। मिटिङमा उत्साहजनक प्रतिवद्धता आएन,’ पौडेलले भने।
निर्वाचनमा आवश्यक पर्ने अधिकांश सामानहरु ल्याइसकिएको प्रवक्ता पौडेलले जानकारी दिएका छन्। तर, कतिपय सामानहरु भने अझै आउन नसकेको उनले बताए।
चीनलगायतका देशमा अझै पनि कोभिड-१९ संक्रमणका कारण लकडाउनको अवस्था रहेकाले सामान आयातमा ढिलाइ भएको प्रवक्ता पौडेलले जानकारी दिए।