PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सत्ता गठबन्धनको बैठक : केमा अड्कियो कुरा?



नेत्र तामाङ

सत्ता गठबन्धनको बैठक : केमा अड्कियो कुरा?

काठमाडौँ: स्थानीय निर्वाचनमा उम्मेद्वार मनोनयनको दिन नजिकिएको छ। तर सत्तारुढ गठबन्धनले अझै पनि उम्मेद्वार टुंगो लगाउन सकेकन छैनन्। गठबन्धन तालमेल गरेर जाने सहमतिका साथ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीर राष्ट्रिय जनमोर्चा उम्मेद्वार टुंग्याउन लागेको छ।

सोमबारमात्र गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दुईपटक बस्यो। तर ६ वडा महानगर र उपमहानगरको उम्मेद्वार टुंगो लगाउन बसेको बैठक निष्कर्षबिनै टुंगियो। बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहँदा पोखरा कांग्रेस बैठक पनि चर्चामा आयो। एकीकृत समाजवादीलाई जिताउन नसकिने भन्दै गठबन्धनको बैठक चलिरहँदा कास्की कांग्रेसल विज्ञप्ति नै जारी गर्‍यो।

विज्ञप्ति जारी गर्नुपूर्व सचिव भानुभक्त ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने लेखेका थिए। कांग्रेस कास्कीको विज्ञप्तिमा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेको उल्लेख छ।

गठबन्धनमा यसअघि पहिले जितेको तह सम्बन्धित दललाई दिने र एमालेले जितेको स्थानीय तह बाँड्ने सहमति भएको थियो। जस अनुसार ललितपुर र विराटनगरमा कांग्रेसले यसअघि मेयर र उपमेयर दुबैमा जित निकालेको थियो। यो दुबै महानगर कांग्रेसले लिने र थप एक महानगर कांग्रेसले पाउने बताइएको छ। जसलाई गठबन्धनको बैठकबाट ब्रेक लिएर पेरिसडाँडा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पुष्टि गरे।

यसअघिको स्थानीय निर्वाचनमा माओवादीले भरतपुरको मेयरमा जित निकाल्यो। प्रचण्डपुत्री रेणु दाहालले मेयर बनेपछि बिकासको बहार ल्याएकोले उक्त क्षेत्र उनलाई नै छाड्ने कांग्रेसकै नेताहरुको तयारी छ। प्रचण्डले पनि ६ महानगरमध्ये माओवादीले एकमात्र महानगरमा दाबी गर्ने बताए।

'६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने लगभग सहमति भएको छ,’ उनले भने।

वीरगंजमा जनता समाजवादी पार्टीले पाउने देखिन्छ। काठमाडौं र पोखरामा माओवादीले दाबी नगर्ने देखिन्छ। यसमा काठमाडौं कांग्रेसले दाबी गर्दा पोखरा एकीकृत समाजवादीले पाउनुपर्ने दाबी गरिएको छ। बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने जोड गरेका थिए। तर कांग्रेसले नेपालको कुरामा प्रश्न उठाएपछि सहमतिबिनै बैठक टुंगियो।

के थियो कांग्रेसको प्रश्न?

पोखरामा एकीकृत समाजवादीले टिकट दाबी गरेपछि कांग्रेस केन्द्रले पनि कास्की कांग्रेसझैं अडान व्यक्त गर्‍यो बैठकमा। कांग्रेस नेताहरुले बैठकमा एकीकृत समाजवादीलाई जिताउनै नसकिने आँकडासमेत प्रस्तुत गरेका थिए। एकीकृत समाजवादीका उम्मेद्वार उभिएको खण्डमा पोखरमा स्वतः एमालेको उम्मेद्वार विजयी हुने विषयसमेत बैठकमा उठ्यो।

'पोखरामा एकीकृत समाजवादीको अवस्था कमजोर छ। गठबन्धनबाट एकीकृत समाजवादीलाई दिँदा पनि तथ्यांक कमजोर छ। के यसरी जित्छ त?' बैठकमा काँग्रेसका एक नेताले प्रश्न गरे।

त्यसपछि बैठक अघि बढ्न नसकेको बैठक सहभागी एक नेताले बताए। यद्यपि एसका अध्यक्ष नेपालको भने आफ्नै पक्षका उम्मेद्वार बनाउनुपर्नेमा जोड रह्यो। एकीकृत समाजवादीबाट पोखरामा धनराज आचार्यको नाम सिफारिस गरिएको छ। आचार्य नेपाल निकट नेता हुन्। आचार्यलाई मेयरमा नभई जिल्ला समन्वय समितिमा समेट्न सकिने उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरिरहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरे।

'धनराजलाई समेट्ने हो भने उनलाई कास्की जिसस प्रमुखमा ल्याउन सकिन्छ,' बैठकमा नेपाललाई वरिष्ठ नेता पौडेलले प्रस्ताव गरेका थिए।

पोखरामा एकीकृतले अडान नछाडे भोलिको बैठकमासमेत सहमति जुट्न हम्मे हुने नेताहरु बताउँछन्। बैठक भोलि मंगलवार साढे ११ बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell