PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘मुसुर्दानी’ बाट चर्चा बटुल्दै रोहित, देउडा रोज्नुको कारण जोडे स्वस्तिमा खड्कासम्म



लक्ष्मी बलायर

‘मुसुर्दानी’ बाट चर्चा बटुल्दै रोहित, देउडा रोज्नुको कारण जोडे स्वस्तिमा खड्कासम्म

काठमाडौं: दशैं तिहारको बिदा। घर नगएको दुई वर्ष भइसकेको थियो। गएको दशैं छेकोमा काठमाडौंबाट डडेल्धुराको कुजाकोट हानिए उनी। सप्तमीको दिन जन्मथलो पुगे।

लामो यात्राले ज्यान गलेको थियो। तैपनि उनलाई रातिको १० बज्दा पनि निद्रा परेन। छोयो त गाउँले वातावरण र माहोलले। अनि गाउँमा गुन्जिने देउडा भाकाले। सुदूरपश्चिममा विशेषगरि गौरा पर्वमा देउडा खेल्ने चलन छ। सोही देउडा खेल हेरेर हुर्केका हुन् रोहित देउवा। ‘मुसुर्दानी’ भाका उनको मनमा गुञ्जन थाल्यो।

‘सानिडाली घङारूकी मुसुर्दानी ठुम्क्या चरो बाँस,

म बाबाका माइत जान्छु मुसुर्दानी नौगेडी लि आस'

फुरेका शब्द मोबाइलमै टाइप गर्न थाले। सुदूरपश्चिमका ठेट शब्द राखे। लगभग तीन घन्टापछि तयार भयो 'मुसुर्दानी' गीत :

सानिडाली घङ्गारुकी मुसुर्दानी ठुम्क्या चरो बाँस

म बाबाका माईत जान्छु, मुसुर्दानी नौगेडी लि आस

के लाउनु नौगेडी माला मुसुर्दानी के लगाउनु हार 

चौबिस घन्टा  चम्मचम्म मुसुर्दानी चम्किने मुहार

गीतको सुटिङ आफ्नै घरमै

दुई महिने घर बसाइपछि काठमाडौं फर्किए उनी - 'मुसुर्दानी' देउडा गीत बोकेर। चटारो गीत तयार गर्नतिरै लागे। देउडा गायिका गौरी भट्ट र आफ्नै स्वरमा गीत रेकर्ड गराए। गीतको अडियो तयार भयो। अब भिडियो कहाँ छायांकन गर्ने?

गीतको भिडियोको लागि उनले सम्झे आफ्नै गाउँ रोजे। भिडियो निर्देशन गर्ने भए गौरव गिरीले। गत चैतको दोस्रो सातातिर भिडियोका लागि छायाँकन टोली डडेल्धुरा गयो। 'मुसुर्दानी' गीत लेखेको घर नै भिडियोको मुख्य छायाँकन स्थल बन्यो।

सुटिङ टिम गाउँ जाँदा त्यहाँको माहोल नै फेरिएको बताउँछन् देउवा। 'सुटिङमा टिम जाँदा गाउँको माहोल नै फेरिएको थियो। चक्र दाई जस्तो चर्चित कलाकारलाई देख्दा गाउँलेहरू खुसी हुनुभएको थियो। त्यहाँ त मेला लागेझै भएको थियो। गाउँलेहरूले गीतको भिडियोको लागि रमाएर डेउडा खेले। सुटिङ हुँदा बच्चादेखि बुढासम्म राति २/३ बजेसम्म सुतेनन्।'

गाउँले वातावरणले गीतको भिडियो छायाँकन गर्न सजिलो सम्झन्छन् उनी। 'घरमा गीतको सुटिङ हुँदा निकै सहज भयो। बस्न र खानाको समस्या भएन्। मेल आर्टिस्टले लगाएको बुवाको ड्रेस हो। फिमेल आर्टिस्टले लगाएको साडी, चोलो र नौगेडी पनि आमाकै हो। टिम पनि राम्रो भएका कारण निकै सहज बनिदियो।'

२/३ दिन सुटिङ सकेर काठमाडौं फर्कियो सुटिङ टिम। मुसुर्दानी गीत भावुक भएर नै चैतको उदासी महिना सार्वजनिक गरेको कारण खोल्छन् उनी। नयाँ वर्ष बिसु पर्वदेखि गौरासम्म यो गीतको फ्लो रहने उनी बताउँछन्।

एक साताअघि रिलिज भएको देउडा गीत मुसुर्दानी यतिखेर चर्चामा छ। गीत टिकटकमा भाइरल भइरहेका छन्। गीतलाई युट्युबमा समेत रूचाइएको छ। यो गीत रिलिज भएदेखि म्युजिक ट्रेन्टिङमै छ।

देउडा गीतलाई दर्शकले मन पराएकोमा दंग सुनिन्छन् उनी। ठेट देउडा गीत ट्रेन्डिङमा आउनुलाई ठूलो उपलब्धिको रूपमा लिन्छन् देउवा।

'टिकटकदेखि युट्युबमा दर्शकको राम्रो साथ छ। अरू देउडाभन्दा फरक र यो देउडा राम्रो लागेको प्रतिक्रिया आएको छ। देउडा नसुन्नेहरूले पनि यो देउडा मन पर्‍यो भनेर कमेन्ट गर्नुभएको छ। यसरी सुदूरपश्चिमको गीत म्युजिक ट्रेन्डिङमा आउनु निकै खुसीको कुरा हो,' उनले भने।

'मुसुर्दानी' को अर्थ मुसुरको एक दाना रहेको उनले बताए। यस गीतले गाउँघरको झल्को, अन्तर्जातीय बिहेदेखि माइत जाने कुरा र श्रीमान श्रीमतीबिचको देखाउन नसकिने माया समेटेको उनले भने।

देउडा रोजाईमा पर्नुको कारण

गीतसंगीतसँगको नाता रोहितको लागि नौलो होइन। सानैदेखि उनी विद्यालयमा गीतहरू गाउँथे। तर रोजाईको विधामा भने जहिल्यै देउडा नै पर्थ्यो। आफै देउडा गीत बनाएर विद्यालयका कार्यक्रममा गुन्गुनाउन्थे उनी।

तीन वर्षअघि डान्सिङ प्याटर्नको डेउडा गीत 'खेल मेरी दर्कादारी' ल्याएका थिए रोहितले। गीतलाई दर्शकहरूले रूचाए पनि। तर उनी भने मनैदेखि खुसी हुन सकेनन्। त्यस गीतमा आफ्नोपन महसुस गर्न नसकेको उनको तर्क छ। त्यसपछि भने उनी संगीत सिक्न काठमाडौं आए।

२२ वर्षीय रोहितले किन रोजे त देउडा? जवाफमा रोहित भन्छन्, 'देउडाभित्र नेपाली संगीतभन्दा अलग स्वाद छ। देउडाभित्र साहित्य छ। नेपाली गीतहरू लेख्दा जुन शब्दहरू मिल्दैन। त्यो देउडामा छिटो खुल्छ। अरू पनि विधा छन् तर देउडा गीत गाउँदा जुन खुसी मिल्छ। अरूमा मिल्दैन। देउडा मेरै ठाउँकै भएर आफ्नोपन महसुस हुन्छ।'

गायक चक्र बमबाट पनि प्रभावित भएको बताउँछन् रोहित। भन्छन्, ‘सबै सर्जकलाई मेरो उच्च सम्मान छ। तर मैले गीतसंगीतमा लाग्दा चक्र दाइलाई फलो गरेको हुँ। उहाँको देउडा गीत सुनेर नै यसरी पनि देउडा लेख्न सकिन्छ लागेको थियो। उहाँका देउडा गीतहरू युवापुस्ताले मन पराउने खालको हुन्छन्। अहिले पनि मलाई उहाँले निकै सहयोग गर्नुभएको छ। म हरेक काम दाइसँग जोडिएर गर्छु।’

सुदूरपश्चिममा देउडा गीतप्रति रूचि हराउँदै गएपनि बाहिरका मानिसलाई देउडाप्रति चासो रहेको उनको तर्क छ। अबको चार/पाँच वर्षमा देउडा पनि राष्ट्रिय स्तरको हुने सुनाउँछन् उनी। देउडा सुदूरपश्चिममा सीमित नहुने उनको भनाई छ।

‘सुदूरपश्चिममा देउडाप्रति चासो नभएपनि अरूलाई भने देउडा र डोटेली भाषाप्रति चासो छ। सुदूरपश्चिम बाहिरका यहाँ आएर भाकाहरू खोजिरहेका छन्। तर हामीलाई मतलब छैन। फिल्मको लागि स्वस्तिमा खड्काले बाजुरा आएर डोटेली भाषा सिकेको उदाहरण ताजै छ,’ देउवाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell