PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विराटनगर भन्सारमा १२० सिसिटिभी तर चल्छन् मात्र २० वटा



अनन्तराज न्यौपाने

विराटनगर भन्सारमा १२० सिसिटिभी तर चल्छन् मात्र २० वटा

विराटनगर : तीन महिनाअघि विराटनगरको पुरानो भन्सार कार्यालयअगाडि ढाटमा रहेको फलामको ढिक्का एकाएक हरायो। अनुसन्धानका लागि भन्सार कार्यालयले सीसीटीभी रेकर्ड प्रहरीलाई बुझायो। त्यो हेरेर प्रहरीले चोर पत्ता लगायो। चोर पक्राउ पनि पर्‍यो। फलामको ढिक्का उसले कबाडीमा १८ हजारमा बिक्री गरिसकेको रहेछ।

चोरी गर्नेलाई प्रहरीले अन्तर्राष्ट्रिय सिमानाको मालवस्तु हिनामिना गर्नेलाई ज्यान मारेबराबरको सजाय हुन्छ भनेर धम्क्यायो। त्यसपछि त्यस व्यक्तिले सामान फिर्ता गर्‍यो। पुरानो भन्सारमा त चोरी गरिएको मालसामान सीसीटीभीका सहायताले फेला पर्‍यो।

तर एकीकृत जाँच चौकी (आइसीपी) मा विराटनगर भन्सार कार्यालय सरेपछि भने सीसीटीभीको फुटेजको रेकर्ड हेर्ने सुविधा छैन।

२०७६ माघ ७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा रिमोट थिचेर विराटनगरको आइसीपी उद्घाटन गरेका थिए। यसपछि विराटनगर भन्सार उक्त आइसीपीबाटै सञ्चालित छ। तर, सीसीटीभीको फुटेज रेकर्ड हेर्न नमिल्ने भएका कारण सुरक्षाको गम्भीर चुनौती छ।

विराटनगर भन्सार कार्यालयका प्रमुख तारा सापकोटाका अनुसार आइसीपीको निर्माण ठेक्का पाएको भारतीय राइट्स कम्पनीले १४० वटा सीसीटीभी जडान गरेकोमा चल्ने खालका २० वटा मात्र छन्। तिनमा पनि कैद गरेका कुनै पनि दृश्य रेकर्ड हुँदैन। त्यसैले पुरानो कुनै पनि रेकर्ड हेर्न सकिँदैन। त्यसैले आइसीपी क्षेत्रमा कुनै पनि अवाञ्छित घटना भयो भने सम्बन्धित निकायले त्यसको अनुसन्धान गर्न गाह्रो पर्ने देखिएको छ।

सापकोटाले भारतीय पक्षले हालसम्म आइसीपीका सीसीटीभी, क्यामेरा र त्यसको नेटवर्क हालसम्म नेपाललाई औपचारिक रूपमा हस्तान्तरणसमेत नगरेको बताए।

‘सीसीटीभीमा त निश्चित अवधिसम्मको पहिलेको दृश्य प्ले ब्याक गरेर हेर्न सकिन्छ। तर यो सुविधा आइसीपीको सीसीटीभीमा नहुँदा कुनै पनि अनुसन्धान गर्न कठिन छ,’ उनले भने।

सापकोटाले आइसीपीमा यार्डको पनि अभाव भएको बताए। अत्याधुनिक आइसीपीमा जिलेटिन लगायतका विस्फोटक पदार्थ, मिल-मेसिनरी, खाद्यवस्तु र पेट्रोलियम पदार्थका छुट्टाछुट्टै यार्ड हुन्छन्। तर विराटनगरको आइसीपीमा आयातका लागि एक र निर्यातका लागि एक गरी दुई मात्र यार्ड छन्। त्यस्तै फलफूल, हरियो तरकारी, माछा, मासु लगायतका वस्तु राख्न आइसीपीमा छुट्टै चिस्यानयुक्त यार्ड छैन।

‘पक्राउ परेका गाईंभैंसी, बाख्रा लगायतका चौपायालाई लिलाम गर्न ३-४ दिनसम्म राख्नुपर्ने हुन्छ,’ प्रमुख सापकोटाले भने, ‘तर आइसीपीमा त्यस्ता चौपाया राख्ने व्यवस्था पनि छैन। पुरानै भन्सार कार्यालयका यार्डमा लगेर राख्नुपर्छ।’

आइसीपीको व्यवस्थापन हेरिरहेको नेपाल सरकारको नेपाल इन्टरमोडल यातायात विकास समितिलाई यस अघि भदौ २४ मा नै पत्र दिएर सबै अवगत गराइएको उनले उल्लेख गरे। उनका अनुसार इन्टरमोडललाई सीसीटीभी मर्मत गर्ने खर्चको इस्टिमेट १७ लाख ५० हजारसमेत जानकारी गराइएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख आशिष गजुरेलले भने भन्सार कार्यालयले सीसीटीभीको जानकारी बजेट भाषणपछि गराएकाले बजेटमा पार्न नसकिएको बताए। आगामी आर्थिक वर्षको बजेटमा सीसीटीभी मर्मत खर्च विनियोजनमा पारिने दाबी गर्दै निकासा आउनेबित्तिकै काम सुरु हुने उनले उल्लेख गरे।

आइसीपी क्षेत्रमा निर्माण गोदाम र पार्किङ यार्ड निर्माणाधीन रहेको जानकारी दिँदै उनले संरचनाहरू क्रमशः विस्तार गरिने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell