
बागलुङ : आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गलकोट नगरप्रमुखका १४ आकंक्षीमा तीन महिला छन्। तीमध्ये बहालवाला उपप्रमुख रेणुका काउचा पनि एक हुन्। उनले पाँच वर्ष उपप्रमुख भएर काम गरेकोले अब प्रमुखमा आफ्नो सशक्त दाबेदारी रहेको बताइन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारले लोकप्रिय मत लिएर जितेको उनले स्मरण गराइन्। जनताले पत्याए पनि पार्टीले भने आफूहरुमाथि विश्वास नगरेको उनको गुनासो छ।
‘उपप्रमुखका रूपमा पाँच वर्ष काम गरियो। धेरै कुरा सिकियो, अब प्रमुख भएर नगर हाँक्ने दृढता मसँग छ’, उनले भनिन्, ‘पार्टीले त हामी महिलालाई झट्टै पत्याउन गाह्रो छ। तर जनताको विश्वास हामीप्रति छ।
काउचाले पनि प्रमुखको तुलनामा २८४ बढी मत लिएर गलकोटको उपप्रमुखमा विजयी भएकी थिइन्। अबको निर्वाचनमार्फत नगरप्रमुख बनेर गलकोटको नेतृत्व गर्ने काउचाको अठोटमा छ। तर टिकट बाँडफाँटमा पछि परिने हो कि भन्ने संशयमा छ उनमा।
‘पार्टीमा आफ्नो दाबी दह्रोसँग राखिरहेकी छु। कार्यकर्ता र मतदाताको मन जित्छु भन्ने आत्मविश्वास छ’, काउचाले भनिन्, ‘ऐन, नियम केही नहुँदा पनि कर्मचारीका भरमा त काम गरियो। अहिले त जग बसेको छ, संरचना तयार छ, त्यसमै टेकेर नगरपालिका हाँक्न सकिन्छ।’
उनले उपप्रमुख भएर काम गर्दा पनि अधिकारविहीन हुनुनपरेको बताइन्। कानुनी प्रबन्धबाटै प्रमुख र उपप्रमुखको काम, कर्तव्य नै तोकिएपछि जिम्मेवारी बहनमा पछाडि परेको अनुभव कहिल्यै नभएको उनले सुनाइन्।
‘कतिपय ठाउँमा प्रमुख र उपप्रमुखबिच तालमेल नहुँदा विवाद पनि देखिए तर हामीले त्यस्तो हुन दिएनौं। जनता र सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्यौं’ उनले भनिन्।
काउचालाई झैँ ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनलाई पनि अध्यक्ष भएर गाउँपालिका चलाउने आँट गरेकी थिइन्। तर अध्यक्ष पदको आकांक्षीमा पुरुष अनुहार नै हाबी भएपछि उनी पुनः एकपटकलाई उपाध्यक्षमै दोहोरिने मनस्थितिमा पुगेकी छिन्।
‘जिम्मेवारी पाए नेतृत्व गर्न नसक्ने भन्ने त होइन। तर पार्टीको कुरालाई पनि मान्नै पर्नेरहेछ’, पुनले भने, ‘महिलाले सक्दैनन् भन्ने पुरानो र पुरुषवादी सोच अझै हटेको छैन। समाजले पनि महिलालाई झट्टै अघि सार्न चाहँदैन।’
तर, स्थानीय तहको उपप्रमुख या उपाध्यक्ष हुनुलाई पनि महत्वपूर्ण उपलब्धि मान्नुपर्ने उनको बुझाइ छ। न्यायिक, राजस्व परामर्श, अनुगमन समिति, सामाजिक विकास, बजेट निर्माणलगायत क्षेत्रमा उपाध्यक्षको नेतृत्वदायी भूमिका हुने पुनले बताइन्। नेकपा माओवादी केन्द्रबाट चुनाव लडेर उपाध्यक्ष बनेकी उनले असक्षम भएर या नचाहेर अध्यक्षको उम्मेदवार बन्ने दौडमा नलागेको नभई पार्टीको आन्तरिक परिस्थिति मिलाउन सहयोग गरेको रूपमा बुझ्नुपर्ने बताइन्।
महिला उपप्रमुख भएको अर्को नगरपालिका हो ढोरपाटन। त्यहाँ नेकपा एमालेबाट करमती पुनमगरले विसं २०७४ को स्थानीय तह चुनावमा उपप्रमुख पद जितेकी थिइन्। यसपालिको चुनावमा पुनमगर प्रमुखको उम्मेदवार बन्ने बाटो अब करिब बन्द भइसकेको छ। पार्टीले अहिलेका नगरप्रमुख देवकुमार नेपालीलाई नै पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ।
पुनमगरलाई उपप्रमुख भएर काम गर्दाका अनुभव र आगामी चुनावमा उम्मेदवार बन्ने-नबन्ने विषयमा सोध्दा कुनै प्रतिक्रिया दिइनन्। यीबाहेक बरेङ, निसीखोला र तमानखोला गाउँपालिकामा पनि महिला उपाध्यक्ष छन्। ती गाउँपालिकामा पनि अहिले भएका महिला उपाध्यक्षले नै अध्यक्ष पदको टिकट पाउने कुनै सम्भावना छैन।
गठबन्धनले तालमेल गरेर चुनाव लड्ने तयारी गरेकोले पनि यो चुनावमा प्रमुख पदमा महिलाको नेतृत्व खुम्चने देखिएको छ। गत स्थानीय निर्वाचनमा पनि दलहरूबिच गठबन्धन हुँदा महिला नेतृत्वमा आउनबाट बञ्चित भएका थिए। यहाँका बाँकी चार स्थानीय तहमा पुरुष उम्मेदवार नै उपप्रमुख र उपाध्यक्षमा निर्वाचित भएका थिए।
गठबन्धनका नाममा महिलालाई मुख्य पदमा आउनबाट रोक्न नहुनेमा यहाँका राजनीतिक दलका महिला संगठनले पनि ध्यानाकर्षण गराएका छन्। गत महिना अन्तरपार्टी महिला संजालले पनि महिलालाई नेतृत्वदायी पदमा उम्मेदवार बनाउन माग गरेको थियो।