PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

क्रिप्टोको लतमा युवाहरु : बिबिएस पढ्दै गरेका युवकको एक वर्षमा ३५ करोड रुपैयाँभन्दा बढी कारोबार, ५ हजार तिरेर काट्थे कपाल!



सविन ढकाल

क्रिप्टोको लतमा युवाहरु : बिबिएस पढ्दै गरेका युवकको एक वर्षमा ३५ करोड रुपैयाँभन्दा बढी कारोबार, ५ हजार तिरेर काट्थे कपाल!

काठमाडौं : २२ वर्षीय सामान्य युवकले यति ठुलो रकमको कारोबार गरेको होला भन्ने प्रहरीले कल्पना समेत गरेको थिएन। तर प्रहरीले विभिन्न कोणबाट गरेको अनुसन्धानले उनै तिर कारोबारको संकेत गरिरहेको थियो। त्यसपछि खुसीबजारको प्राइम कलेजमा बिबिएस पढिरहेका २२ वर्षीय अनुप मिश्र प्रहरीको निशानामा परे।

झापा बिर्तामोड नगरपालिका घर भएका मिश्र अध्ययनको लागि भन्दै काठमाडौंको स्रोहखुट्टेमा कोठा भाडामा लिएर बसेका थिए। महानगरीय अपराध महाशाखाको टोलीले युवक मिश्रको खातामा अस्वाभाविक रकम देखि पछि अनुसन्धान अगाडी बढाएको थियो। करिब एक महिनाको अनुसन्धानपछि मिश्र शनिवार समातिएका थिए।

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा प्रहरीले मिश्रलाई समात्यो। अनुपले ३५ करोड ४६ लाख ८३ हजार रुपैयाँ कारोबार गरेको देखियो। उनले क्रिप्टोकारोबारको लागि ब्यालेन्स एकाउन्ट खोलेर विभिन्न २० वटा क्रिप्टोकरेन्सीहरु जम्मा गरी कारोबार गरेको देखिएको छ। एक वर्षको अवधिमा नै उनले ३५ करोड रुपैयाँ भन्दाबढी कारोबार गरिसकेका थिए। अनुपले आफ्नो नभएर दाइको नाममा समेत खाता खोलेर कारोबार गरेका थिए। सन् २०२१ मे देखि कारोबार गरेको खुलेको छ। उनले छोटो समयमा नै लाखौं रुपैयाँ कमाइ सकेका थिए।

नेपालमा क्रिप्टो कारोबारलाई वैद्य मानिँदैन। नेपालभित्र यसको कारोबार हुन थालेको जानकारी पाएपछि नेपाल राष्ट्र बैंकले पनि यस खालका कुनै पनि कारोबार नगर्न सर्वसाधारणमा अपिल जारी गरिसकेको थियो। केही महिनाअघि अपिल जारी भएपछि अनुपले कारोबार गर्न बन्द गरेका थिए। प्रशासन सक्रिय भयो भन्ने थाहा पाएपछि उनीहरू केही महिना निष्क्रिय रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। तर फेरि माहोल शान्त भएको बुझेपछि उनीहरू कारोबारमा सक्रिय रुपमा लागेका थिए।

शनिबार र आइतबार महाशाखाले अनुपसँगै अन्य दुई जनालाई समेत पक्राउ गरेको थियो। काभ्रेपलान्चोक घर भएका २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफल बस्ने २७ वर्षीय राहुल चचानलाई प्रहरीले समातेको छ। प्रहरीका अनुसार दिपेशले २४ करोड ७९ लाख ५६ हजार रुपैयाँ र राहुलले ६ करोड ५३ लाख रुपैयाँ कारोबार गरेको खुलेको छ। उनीहरूले पनि कारोबार गर्न थालेको एक वर्ष मात्र भएको छ। पक्राउ परेका दुई जनाको न्यूरोडमा सामान्य व्यापार रहेको छ। जुन व्यवसायले उनीहरूको खातामा भेटिएको रकमसँग तालमेल देखिँदैन। दिपेश पनि काठमाडौंमा डेरा गरेर बस्दै आएका छन्। राहुलको भने काठमाडौंमा आफ्नै घर भएको खुलेको छ।

छोटो समयमा अनुपले नै धेरै कारोबार गरेको देखिन्छ। उनीहरुले एक वर्षमा ६६ करोड ७९ लाख ७९ हजार ९६३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

यसरी कमाएको रकम उनीहरूले विलासितामा खर्च गरेको प्रहरीको प्रारम्भिक बयानमा बताएका छन्। यतिसम्म की कपाल काट्न समेत ५ हजार रुपैयाँ तिर्ने गरेका थिए।

'कपाल काट्न र नुहाउनको लागि नै ५ हजार रुपैयाँसम्म तिर्ने गरेको छु। केही दाईहरुले अपार्टमेन्ट देखि गाडी समेत जोडेका छन्,' अनुपलाई उद्दत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

उनीहरूले एकैचोटीमा ५० हजार डलरसम्मको कारोबार गरेको देखिएको छ। नेपालमा दिनमा १ लाख ५० हजार डलर भन्दाबढी कारोबार गर्नेहरु समेत देखिएका छन्। यस्ता व्यक्तिको खोजीमा प्रहरी लागिरहेको छ।

नेपालमा क्रिप्टो कारोबार गरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुनेछ। कसुर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। तर पछिल्लो समय क्रिप्टोकारोबार अभियोगमा समातिएकाहरू अदालतबाट धरौटीमा छुटेका छन्।

मुख्य सप्लाएर अझै फरार, खोज्दै प्रहरी

नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागले पछिल्लो पटक क्रिप्टो कारोबारमा पक्राउ गरेका सबै युवा देखिएका छन्। उनीहरु २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन्। धेरै जसो आइटीसम्बन्धी ज्ञान भएका युवाहरू रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

राजश्व अनुसन्धान विभागले ३७ करोड बिगोसहित अदालतमा उभ्याएका कैलालीका दिनेश खड्का पनि युवा नै हुन्। सामान्य आर्थिक अवस्था भएका दिनेशको खातामा करौडौं रुपैयाँ देखिएपछि उनी अनुसन्धानमा तानिएका थिए। पछिल्लो पटक प्रहरीको नियन्त्रण र अनुसन्धानको घेरामा परेका मानिस पनि युवा नै देखिएका छन्।

'जो प्रविधिसँग नजिक छ उसको संलग्नता बढी देखिएको छ। २० देखि ३० वर्ष उमेर समूहका युवाहरूले नै बढी कारोबार गरेको देखिएको छ,' महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले भने।

प्रहरी नियन्त्रणमा रहेका तीन जनाले आफूहरूलाई बिटक्वाइनको सप्लाइ अरूले नै गर्ने गरेको बताएका छन्। यसरी ठुलो मात्रामा बिटक्वाइन तथा क्रिप्टोको कारोबार गर्ने मुख्य सप्लायरको पहिचान समेत प्रहरीले गरिसकेको छ। केही भने फरार रहेका छन्। उनीहरूले एक दिनमा नै २ लाख डलर बराबरको कारोबार गर्ने गरेको देखिएको छ। यसरी कारोबार गर्न उनीहरूले भारतीय नागरिकको नाममा ब्यालेन्स खाता खोल्ने र आफैँले चलाउने गरेका छन्। मुख्य सप्लायरहरुले छोटो अवधिमा काठमाडौंमा अपार्टमेन्ट देखि गाडीसम्म खरिद गरेको खुलेको छ।

'यो त एउटा पिरामिड शैलीकै कारोबार भएका छन्। यसमा संलग्न ठुला र मुख्य कारोबारीको पहिचान समेत भइसकेको छ। उनीहरू फरार रहेकाले हामी खोजी गरिरहेका छौँ,' एसएससी कुँवरले भने।

प्रहरीको अनुसन्धानमा नेपालभित्र गाउँ गाउँमा क्रिप्टोकारोबारी भएको खुलेको छ। तर कानुन र प्रविधिको अभावमा प्रहरी र अन्य निकायले यसलाई नियन्त्रण गर्न सकेका छैनन्। प्रहरीले पनि ठुलो सङ्ख्या र सञ्जाल बनाएर कारोबार गर्नेहरूलाई मात्र खोजी गरिरहेको छ।

अहिले देशभित्र विदेशी मुद्राको सञ्चित कम भएकाले विलासिताका बस्तुहरू आयत गर्न रोक लगाएको छ। तर क्रिप्टोकारोबारबाट वस्तु आयात गर्न रकम पठाइएको समेत देखिएको छ। व्यापारीहरूले क्रिप्टोबाट नै केही देशमा रकम पठाएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell