
इजिप्टको एक अदालतले टिकटक इन्फ्लुएन्सर हनीन होसामको कैद सजाय घटाएको छ। ‘मानव बेचबिखन’ मुद्दामा उनलाई १० वर्षको कैद सजाय सुनाइएको थियो। अदालतले कैद सजाय घटाएर ३ वर्ष बनाएको अदालतको एक स्रोतलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ।
उनको कैद सजाय कटौती गरिएको भएपनि होसामले कायरो फौजदारी अदालतले तोकेको २ लाख इजिप्सियन पाउन्ड (१० हजार ७४० अमेरिकी डलर) जरिवाना भने तिर्नुपर्ने सोमवार अदालत स्रोतले एएफपीलाई बताएको छ।
यो घटनापछि इजिप्टमा महिला इन्फ्लुएन्सरलक्षित व्यक्तिगत स्वतन्त्रता र सामाजिक मूल्यमान्यताबारे चर्को बहस सुरु भएको छ।
होसाम अर्का एक इन्फ्लुएन्सर मवादा अल-अधमसहित २०२० मा पक्राउ परेकी थिइन्। अल-अधमलाई अनलाइन भिडियोमा ‘सामाजिक मूल्यमान्यतामाथि आक्रमण’ गरेको अभियोगमा २ वर्षको कैद सजाय सुनाइएको थियो।
भिडियो बनाउने प्लेटफर्म ‘लाइक’मार्फत भिडियो ब्रोडकास्ट गरेर महिलाहरुले ३ हजार डलरसम्म कमाउन सक्ने भन्दै इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेपछि होसाम पक्राउ परेकी थिइन्। जसलाई इजिप्टका अधिकारीहरुले अनलाइनमा यौन व्यापारको संज्ञा दिएका छन्।
एक पुनरावेदन अदालतले यी दुई जनालाई गत वर्षको जनवरीमा सफाइ दिएको थियो। तर, पछि उनीहरूविरुद्ध ‘मानव बेचबिखन’को अभियोग लगाइएको थियो। होसामले आफ्ना १३ लाख फलोअरहरूलाई केटीहरूले सामाजिक सञ्जालमा आफूसँग काम गरेर पैसा कमाउन सक्छन् भन्नुलाई ‘मानव बेचबिखन’को रुपमा व्याख्या गरिएको थियो।
त्यतिबेला १९ वर्षकी होसामलाई उनको अनुपस्थितिमै सजाय सुनाइएको थियो र गत जुनमा उनलाई गिरफ्तार गरिएको थियो। उनले अहिले पनि कैद सजाय भुक्तान गरिरहेकी छिन्।
कैद सजाय कटौती गरिएको होसामका वकिल हुसेन अल-बाकरले पुष्टि गरेका छन्। होसामले अनुसन्धानको समयसहित २१ महिनाको कैद भुक्तान गरिसकेकाले सम्भवतः उनी जुन या जुलाईमा रिहा हुन सक्ने बाकरले बताए। पछिल्लो सजायमाथि पनि अझै पुनरावेदन गर्न सकिने उनले जानकारी दिए।
इजिप्टमा विगत केही वर्षहरूमा इन्टरनेट नियन्त्रणको लागि केही कानुनहरु लागू गरिएका छन्। यी कानुनहरुले राष्ट्रिय सुरक्षाको लागि खतराको रूपमा देखिएका वेबसाइटहरू ब्लक गर्न र ५ हजारभन्दा बढी फलोअरहरू भएका व्यक्तिगत सामाजिक सञ्जाल अकाउन्टहरू निगरानी गर्न अधिकारीहरूलाई अनुमति दिएको छ।
यस्ता कानुनको निसानामा महिलाहरु पर्नु सामान्य जस्तै भएको छ इजिप्टमा। पछिल्ला वर्षहरुमा अनलाइन सामग्रीकै कारण थुप्रै बेली डान्सर र पप गायिकाहरुलाई अधिकारीहरुको निसानामा परेका थिए।
टिकटक इन्फ्लुएन्सरलाई कैद सजाय सुनाइएपछि गत वर्ष एम्नेस्टी इन्टरनेशनलले त्यसको भर्त्सना गरेको थियो।
‘महिला टिकटक इन्फ्लुएन्सरहरूलाई उनीहरूको लुगा लगाउने, अभिनय गर्ने, सामाजिक सञ्जालमा प्रभाव पार्ने र अनलाइनमा पैसा कमाउने शैलीको आधारमा सजाय दिइएको छ’, एम्नेस्टी इन्टरनेशनलका अनुसन्धानकर्ता हुसेन बाउमीले भने, ‘यो महिलाको शरीर र आचरणलाई नियन्त्रणमा राखेर साइबरस्पेस नियन्त्रण गर्ने अधिकारीहरूको प्रयासको एक हिस्सा हो।’