PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

हारपछिको तोडफोड : नयाँबस्ती युवा क्लबलाई ३ लाखको जरिबाना, अफिसियल र खेलाडीलाई पनि कारबाही



पहिलोपोस्ट

हारपछिको तोडफोड : नयाँबस्ती युवा क्लबलाई ३ लाखको जरिबाना, अफिसियल र खेलाडीलाई पनि कारबाही
फोटो : इलाभेन स्पोर्ट्सको भिडियोबाट लिइएको स्क्रिनसट।

काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिग २०७८ मा मध्यपुर युथ एसोसिएसनसँगको खेलमा अपमानजनक व्यवहार र अनुशासनबाहिरको क्रियाकलाप देखाउँदा नयाँबस्ती युवा क्लब कारबाहीमा परेको छ। एन्फा लिग कमिटीको बैठकले क्लबमाथि ३ लाख रुपैयाँको जरिबाना गराउने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

त्यस्तै, क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाको फुटबल गतिबिधिबाट दुई वर्षको लागि प्रतिबन्ध लगाउने निर्यण गरेको छ भने क्लबका म्यानेजर विकास राईलाई ६ महिनाको प्रतिबन्ध र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

अप्रिल ९ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मध्यपुरसँगको ३-१ गोलअन्तरको हारपछि नयाँबस्तीका खेलाडी र अफिसियलहरुले मैदान परिसरमा तोडफोड गर्नुका साथै म्याच अफिसियललाई गालीगलौच गरेका थिए। नयाँबस्तीले ११औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो।

यसअघि श्री भगवती क्लबले पनि यहि सिजनमा कारबाही ब्यहोरेको थियो। बाँसबारी क्लब र श्री भगवती क्लबबिचको खेलमा रेफ्रीमाथि हातपात गर्ने कार्यमा संलग्न देखिएको भन्दै श्री भगवती क्लबमा मुख्य प्रशिक्षक शैलेश कर्मचार्यमाथि एन्फाले कारबाही गरेको थियो। एन्फाले कर्मचार्यमाथि ३ खेलमा प्रतिबन्ध लगाएको थियो।

त्यस्तै, क्लबमाथि पनि ५० हजार रुपैयाँ जरिवाना र क्लबका टिम म्यानेजर दीपेन्द्र डंगोल, राजाराम श्रेष्ठ र विक्रम डंगोललाई पनि लिगको बाँकी खेलमा प्रतिबन्ध लगाइएको थियो।

पछिल्लो सिजनमा ‘बी’ डिभिजन लिगबाट चर्च ब्वाइज क्लब र खुमलटार युथ क्लब प्रोमोसन हुँदै ‘ए’ डिभिजनमा उक्लिएका थिए भने सामाजिक युथ क्लब र झम्सिखेल युथ क्लब सी डिभिजनमा रेलिगेट भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell