काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ शहर केन्द्रीत हुन नहुने बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत भएर संगठन निर्माण गर्न निर्देशन दिएका हुन्।
देउवाले हाल नेविसंघ विद्यार्थी युनियनको निर्वाचनमा पराजित भइरहेको भन्दै विद्यालय तहमा नै संगठन निर्माण गर्न समेत भने। यसअघि पनि देउवाले नेविसंघ विद्यालयमा नपुगेको भन्दै सार्वजनिक रुपमा नै असन्तुष्टि व्यक्त गरेका थिए।
‘२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरी नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ। किन हार्दैछौँ ? यो कुरा ध्यान दिनुपर्ने भएको छ,’ देउवाले भने ‘स्कुल त गाउँमा छ नि। जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन्।’
नेकपा एमाले, नेकपा माओवादी केन्द्रले विद्यालय तहमै समिति बनाएको भन्दै देउवाले गाउँका विद्यालयहरुमै संगठन निर्माण गर्न भनेका हुन्।
‘गाउँकै स्कुलमै कमिटी बनाउनुस्। स्कुलको युनियन जित्नुस्। सम्पूर्ण देशभरीका कलेज र स्कुलहरुमा हाम्रो संगठन, पार्टी बनाउनुस्,’ देउवाले भने।
देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए। उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।