धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब पुगेको छ। आज धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो।
वनदेवीलाई सेमिफाइनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन्। पहिलो हाफको छैटौं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाइन्। खेलको निर्धारित समय सकिनुभन्दा एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९ औं मिनेटमा अर्को गोल थपिन्। त्यसपछि कुनै पनि गोल हुन नसकेपछि वनदेवीले २–० ले नतिजा आफ्नो पक्षमा पार्यो। सेमिफाइनलमा अव वनदेवीले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुनेछ। पहिलो सेमिफाइनल खेलमा विभागीय टोलीहरु एपिएफ र नेपाल आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्। विहीवार दोस्रो सेमिफाइनल खेल हुनेछ। विहीवारको सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।
धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो।