PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

महानगरको विवाद मिले पनि कास्की गठबन्धनको पालिकामा विवाद कायमै : पोखराको मेयर एकीकृतले पाउँदा एमालेमा छायो खुसी



रिना थापा

महानगरको विवाद मिले पनि कास्की गठबन्धनको पालिकामा विवाद कायमै : पोखराको मेयर एकीकृतले पाउँदा एमालेमा छायो खुसी

पोखरा : कास्कीको सत्ता गठबन्धनमा खटपट ल्याएको पोखरा महानगरपालिकाको प्रमुख पदको भागबन्डा विवाद मंगलवार टुंगियो। मंगलवार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकले पोखरा महानगरको प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो। गठबन्धन बैठकको यो निर्णयले कास्की कांग्रेस भने रुष्ट छ। कास्की कांग्रेसका नेताको दबावकै बिच पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृतलाई प्रमुख पद दिने निर्णय गरे।

मंगलवार प्रधानमन्त्री देउवाले कास्की कांग्रेसका नेताहरुलाई बालुवाटार नै बोलाए। त्यहाँ पुगेका कांग्रेसका नेताले एकीकृतले प्रमुख पाए दुर्घटना हुने चेतावनी देउवालाई दिएको बताइएको छ। स्थानीय तहको नेतालाई रुष्ट पार्दै गरेको गठबन्धनको भागबन्डाले निर्वाचनको मतपरिणाममा असर देखाउने कांग्रेसभित्रकै नेताहरु बताउँछन्।

‘चुनावमा सामान्य समयमा त मत तलमाथि हुन्छ। यहाँ त रुखको मत अन्त हाल्ने कुरा भएको छ। यसले गठबन्धनको मतपरिणाममा पक्कै असर देखाउँछ,’ कांग्रेसका एक नेताले भने।

यसले नेकपा (एमाले)लाई निर्वाचनमा गठबन्धनसँगको लडाईँमा होमिन सहज हुने देखिन्छ। समाजवादीको अस्तित्व स्विकार्न नसकिरहेको कांग्रेस तटस्थ बसे एमालेलाई गठबन्धनसँग जित हात पार्न झनै सहज देखिने कांग्रेसभित्रकै नेता बताउँछन्।

‘नसोचेको निर्णय आयो। एकीकृतको चर्चा चले पनि पोखरामा कांग्रेसले प्रमुख गुमाउनुपर्छ भन्ने लागेको थिएन। हामीलाई औपचारिक रुपमा जानकारी आइसकेको छैन। त्यसैले एक हुन्छ भन्न सकिन्न,’ कांग्रेसबाट प्रमुखमा आकांक्षी समेत रहेका ती नेताले भने, ‘त्यसरी अघि बढे साथीहरू तटस्थ बस्ने सम्भावना बढी छ। हामीले यो बारे अवगत गराइसकेका थियौं प्रधानमन्त्रीलाई।’

अघिल्लो निर्वाचनको आँकडा यस्तो

ती नेताले भनेजस्तै कांग्रेसको मत तटस्थ रहे एकीकृत जित्ने सम्भावना न्युन देखिन्छ। पोखरामा एमालेको बलियो पकड रहेको हुनाले एमालेसँग प्रतिस्पर्धा गर्ने दोस्रो ठुलो दल नै कांग्रेस हो। ०७४ को स्थानीय तह निर्वाचनमासमेत माओवादीसँग तालमेल गरेर कांग्रेस प्रमुखमा लड्दा १४ हजार मतान्तरले एमालेले जित निकालेको थियो। अघिल्लो निर्वाचनमा एक लाख ६८ हजार ६८ जना मतदाता रहेका थिए।

त्यस समय एमालेका तर्फबाट मानबहादुर जिसिले ६० हजार १ सय १८ मत ल्याएर प्रमुखमा विजयी भएका थिए। त्यतिबेला माओवादीसँग तालमेल गरेर प्रमुखमा लडेका कांग्रेसका रामजी कुवँरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए। प्रदेश निर्वाचन कार्यालय पोखराले दिएको जानकारीअनुसार अहिले पोखरामा मतदाता थपिएर २ लाख ७ हजार ७ सय १२ जना पुगेको छ।

एमालेभित्र छायो खुसी

अघिल्लो निर्वाचनमा भारी मतान्तरले जित निकालेको एमालेले एकीकृतले प्रमुख पाएपछि पुनः जित्ने सम्भावना देखेको छ। गठबन्धन भित्रकै मतभेदका कारण मतमा तलमाथि हुने एमालेका एक नेता बताउँछन्।

‘गठबन्धन भित्रको मतभेदले हामीलाई जित निकाल्न सहज बनाउँछ। कांग्रेसको को नेताले एकीकृतलाई मत दिन्छ?’ उनले प्रश्न गरे, ‘अधिकांश मत बदर हुन्छन्। कांग्रेसको आफ्नै असन्तुष्टि छ। यसबाहेक हाम्रो रणनीति छ।’

एमालेले जित निकाल्ने आँकलन गरेपनि दुबै पक्ष भने यतिबेला धरमरको अवस्थामा छन्। गठबन्धन मिलेर गए एमालेको मत एकीकृतलाई आउने सम्भावना पनि प्रबल छ। एकीकृतबाट प्रमुखको चर्चामा रहेका धनराज आचार्यले एमालेको मत प्रभावित पार्न सक्ने स्वयं एमाले नेता स्वीकार गर्छन्।

‘गठबन्धन मिलेर गए एमालेको मत केही तलमाथि गर्न सक्नुहन्छ। आन्तरिक विवाद भएका कारण एकीकृतले प्रमुख पाएपछि हामी जित्नेमा झन ढुक्क छौं,’ ती नेताले भने। एकीकृतका जिल्ला अध्यक्षसमेत रहेका धनराज व्यवसायी पनि हुन्।

एकीकृतले पोखरामा प्रमुख पाए पनि एमालेबाट विभाजित बनेको दलको पकड निकै कम छ। पोखरामा दलहरू संगठनात्मक आधारको संख्या हेर्ने हो भनेपनि एकीकृत निकै कमजोर छ। तर पनि पोखरा महानगरभित्र आफ्नो १८ हजारसम्म मतदाता रहेको दाबी एकीकृत पोखराका अध्यक्ष मुक्ति पौडेल गर्छन्। उनका अनुसार महानगरभित्र एकीकृतका करिब ६ हजार कार्यकर्ता छन्।

‘छ हजार चाहिँ कार्यकर्ता हुन् पोखरा महानगरपालिकामा। एकजना बराबर ४ जना गर्दा त्यही महानगरभित्र १८ हजारभन्दा बढी जति मतदाता होलान्। अझै तथ्यांक सबै समेटेको छैन,’ अध्यक्ष पौडेलले भने।

यस्तै एमाले महानगर कमिटीका अनुसार पोखरामा एमालेको १२ हजार ६ सय जना कार्यकर्ता रहेका छन् भने कांग्रेस महानगर कार्यसमितिका अनुसार पोखरामा करिब १५ हजार क्रियाशील सदस्य छन्। नेकपा माओवादी केन्द्रले पोखरामा ११ हजार पार्टी सदस्य रहेको बताउँदा जनता समाजवादीको २ हजार २ सय सदस्य छन्।

कास्कीको पालिकामा अझै भागबन्डाको विवाद

कास्कीमा पोखरा महानगरपालिकासहित पाँच पालिका छन्। सबै पालिकामा प्रमुख आफुले राखेर उपप्रमुख अन्य दललाई दिने अडानमा कांग्रेस छ। पोखरा महानगरको विवाद टुंगिए पनि कास्कीका अन्य पालिकामा भने विवाद कायमै छ। सबै पालिकामा प्रमुख खोजीरहेको कांग्रेसकै अडानका कारण गठबन्धनमा सहमति जुटेको छैन।

पोखरासहित माछापुच्छ्रे गाउँपालिकामा एकीकृत, अन्नपूर्णमा जनता समाजवादीको दाबी छ। मादी र रुपा गाउँपालिकामा सबै दलले दाबी गरिरहेका छन्। यता, एकीकृतको पोखरा पाए माछापुच्छ्रे छोड्ने पूर्वघोषणा थियो। एकीकृतले आफूले चाहेअनुसार पोखरा महानगर आफ्नो भागमा पारे पनि गठबन्धनमा भाग मिलाउन अझै सकस देखिन्छ।

गठबन्धनका कारण आफैं असन्तुष्ट रहेको कास्की कांग्रेसले जसपा र माओवादीलाई पनि मिलाएर जानुपर्ने छ। अन्नपूर्ण गाउँपालिकामा प्रमुख दाबी गरिरहेको जसपाले नपाए गठबन्धन छोड्ने चेतावनी दिइसकेको छ।

अन्नपूर्णसहित पोखरा उपप्रमुख र महानगरको पाँच वटा वडामा जसपाले दाबी गरेको छ। दल सानो भएपनि खोजे अनुसारको सम्मानजनक सिट नपाए गठबन्धनबाट बाहिरिने जसपा गण्डकी उपाध्यक्ष किरण थापा बताउँछन्।

‘दल सानो भएपनि सुरुमा हामीलाई भाग लगाएर अघि बढ्नुपर्छ। हामीले मागेको सिट पाएनौं भने हामी निस्किन्छौं एक्लै लड्छौँ,’ थापाले भने।

यता माओवादीसँग पनि कांग्रेसको खटपट कायमै छ। पोखराको उपप्रमुख दाबी गरेको माओवादीले उपप्रमुख नपाउने देखिन्छ। भागबन्डामा उपप्रमुख कांग्रेसलाई परेको छ। यसबाट माओवादी नेता असन्तुष्ट देखिन्छन्। हिजोमात्र माओवादीले पोखराको उपप्रमुखमा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी सिर्जना त्रिपाठीको नाम सिफारिस गरेको थियो।

सम्मानजनक रुपमा आफुले खोजेको सिट नपाए माओवादीले पनि गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ।

‘उपप्रमुखमा हाम्रो दाबी थियो। एसले प्रमुख पाएपछि कांग्रेसले उपप्रमुख राख्ने भयो। सबै पालिका आफैं प्रमुख बनेर पाँच वटा वडाको सिट दिएर कसरी हुन्छ?’ माओवादीका एक नेताले भने। ०७४ सालको स्थानीय निर्वाचनमा अन्नपूर्ण गाउँपालिकामा बाहेक सबै पालिकामा एमालेले जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell