PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निलम्बित गभर्नरको 'कमब्याक'पछि खोजिँदै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा



निलम्बित गभर्नरको 'कमब्याक'पछि खोजिँदै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौं : गभर्नर निलम्बनको विषयले अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्। उनलाई सत्तारुढ दलभित्रबाटै राजीनामा दिनुपर्ने दबाव सिर्जना भएको छ। अर्थमन्त्री शर्माको व्यक्तिगत टकरावका कारण सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई चैत २६ गते निलम्बन गरेको थियो।

छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। यो निर्णयविरुद्ध अधिकारी वैशाख ४ गते सर्वोच्च अदालत पुगेका थिए। उनको मागमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नरको निलम्बनलाई मंगलवार फैसलामार्फत पर सारिदिएका थिए।

सर्वोच्च अदालतबाट मंगलवार पुनर्बहाली भएका गभर्नर अधिकारी बुधवार दिउँसो राष्ट्र बैंक जाने भएका छन्। आफ्ना अधिवक्ताहरुको सल्लाहअनुसार सर्वोच्चमा गएर औपचारिक पत्र लिएपछि मात्र अधिकारी राष्ट्र बैंक कार्यालय जाने कार्यक्रम तय भएको छ।

सर्वोच्चले मंगलवार उनीमाथि छानबिन रोक्न र नियमित काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश दिएको छ। आदेशको कपी सार्वजनिक पनि भइसकेको छ।

गभर्नर निलम्बनको विषयमा यसअघि पनि सत्तारुढ दलकै नेताहरुले विरोध जनाएका थिए। कांग्रेस नेता डा शेखर कोइरालाले विभिन्न मञ्च पुगेर यसको विरोध जनाएका थिए। 'अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर हुन्छ नै। विलासिताको सामान खरिद नगर्नुस् भनेको हो गभर्नरले, सुपारीको आयात किन चाहियो नेपालमा, मरिचको आयात किन चाहियो। यस्तो रोक्न खोज्दा गभर्नरलाई अनाहक किसिमले निलम्बन गर्नु गैर जिम्मेवारी हो,' नेता कोइरालाले भनेका थिए। अहिले अर्थमन्त्रीमाथि नैतिकताको प्रश्न उठ्न थालेको छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका नेता महेश आचार्यको उदाहरण दिँदै अर्थमन्त्री शर्मा लक्षित भनाई सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। महामन्त्री शर्माले समयले आचार्यलाई सम्झना गराएको उल्लेख गर्दै घुमाउरो पारामा अर्थमन्त्रीको राजीनामासमेत मागेका छन्। 'बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मुल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति!' शर्माले थप लेखेका छन्, 'समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो!'

दुई दशकअघि आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्बहाली गरिदिएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा राजीनामा दिएका थिए। यही नैतिकताको आधार देखाउँदै बहालवाला अर्थमन्त्रीको राजीनामाको माग उठ्न थालेको छ। यसअघि पनि अर्थमन्त्री शर्मालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट फिर्ता बोलाउने तयारी गरेका चर्चा चलेको थियो। यद्यपि माओवादी महाधिवेशनमा शर्माले महासचिव पदमा दाबी गरेपछि यो विषय सेलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell