PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अनलाइन स्ट्रिमिङ एपको लतले बढाउँदै अपराध : 'फ्रि फायर’ बाट चिनजान, पाल्पाबाट काठमाडौं ल्याएर १३ वर्षीया बालिकामाथि यौन शोषण



पहिलोपोस्ट

अनलाइन स्ट्रिमिङ एपको लतले बढाउँदै अपराध : 'फ्रि फायर’ बाट चिनजान, पाल्पाबाट काठमाडौं ल्याएर १३ वर्षीया बालिकामाथि यौन शोषण

काठमाडौंः 'फ्रि फायर गेम'बाट चिनजान भएर १३ वर्षीय बालिकालाई करणी गरिएको घटना सार्वजनिक भएको छ।

महानगरीय प्रहरी परिसरले पीडितको उजुरीको आधारमा पाल्पा घर भएका २७ वर्षीय महेश उदासलाई पक्राउ गरेको छ। खेल मार्फत नै चिनजान भई महेशले बालिकालाई पाल्पाबाट विवाह गर्ने आश्वासन दिएर काठमाडौंमा ल्याइ जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ परेका युवकविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय ‘२१९ को जबरजस्ती करणी गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट १० दिनको  म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

'फ्रि फायर' खेल्दा खेल्दै कसरी भयो घटना ?

चैत ३० गते राति काठमाडौंको टोखा नगरपालिका ६ स्थित बसुन्धरामा १३ वर्षीय बालिकालाई विभिन्न प्रलोभनमा पारेर युवकले करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मुलुकी अपराध संहिता अनुसार १८ वर्ष उमेर नपुगेका किशोरीलाई सहमतिमा समेत यौन सम्पर्क राख्न पाइँदैन।  अहिले अभिनेता पल शाह पनि यस्तै आश्वासनमा पारेर १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग यौन सम्पर्क गरेको कारण जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा छन्। पक्राउ परेका महेशले १३ वर्षीया बालिकालाई पनि बिहे गर्ने भन्दै आश्वासन देखाएर करणी गरेको खुल्न आएको एसपी मैनालीले जानकारी दिएका छन्।

केही समय अगाडी बालिका हराएको भन्दै बालिकाका परिवारले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतको प्रहरी कार्यालयले बालिकाको खोजी गरेको थियो। खोजी गर्ने क्रममा सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ स्थित मातातीर्थमा बालिका फेला परेकी थिइन्।

बालिका भेटिएपछि सोधपुछ गर्दा महेशको कर्तुत खुलेको थियो। महेश र बालिकाबिच एक वर्ष अगाडि चिनजान भएको खुलेको छ। उनीहरूको चिनजान गर्ने माध्यम भने 'फ्रि फायर' गेम बनेको थियो। उक्त खेल खेल्दै जाँदा उनीहरूले त्यहाँबाट म्यासेन्जरमा मार्फत कुराकानी गर्न थालेका थिए। त्यति मात्र होइन मोबाइलमा समेत उनीहरूको कुराकानी हुने क्रम बढेको थियो।

चैत २९ गते विवाह गर्ने भन्दै महेशले बालिकालाई मोटरसाइकलमा राखेर पाल्पाबाट काठमाडौं ल्याएको खुलेको छ। त्यसपछि करणी समेत गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ।

यस्तै अर्को पनि घटना

गत पुस महिनामा सङ्गम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक बालिकालाई साथी बनाइ जबरजस्ती करणी भएको घटना बाहिरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार सुरुमा सुजनले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अङ्ग देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए।

त्यसपछि पुस २७ गते राति काठमाडौँको बुढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाइ जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

परिसरका एसपी दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत् जोडिएर अपराधका घटना हुने गरेको बताउँछन्।

पछिल्लो समय फ्रि फायर लगायतका अनलाइन स्ट्रिमिङ एम र गेम प्ल्याटफर्महरुबाट अपराधिक गतिविधि बढ्दो छ। जसकारण कयौं देशमा यस्ता एपमाथि प्रतिबन्ध समेत लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell