1.jpg)
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने बताएकी छिन्।
पछिल्लो समय गाउँगाउँमा भ्यूटावर बनाइएको भन्दै आलोचना हुँदै आएको छ। आज एक कार्यक्रममा उनले भ्यूटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने बताएकी हुन्।
‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट राख्दैनौं। राज्यमाथि असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैन। अर्को कुरा यसको संचालनको मोडालिटी समेत छैन,’ उनले भनिन्।
उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन्।
झाक्रीले एकीकृत वस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै वस्ती विकास कार्यक्रम ल्याइने बताइन्।
‘आगामी बजेटमा एकीकृत वस्ती विकास कार्यक्रमबाट पछि हट्छौं। पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन। तराई र काठमाडौं उपत्यका क्षेत्रमा जग्गाको अभाव छ’ उनले भनिन्।