बलिउड निर्देशक राजकुमार हिरानीले फिल्म ‘डुंकी’ बनाउने घोषणा गरेका छन्। फिल्ममा अभिनेता शाहरूख खान मुख्य भूमिकामा देखिनेछन्। राजकुमार र शाहरूखले यस फिल्ममार्फत पहिलो पटक सहकार्य गर्न लागेका हुन्।
त्यसैगरी, फिल्ममा अभिनेत्री तापसी पन्नुको पनि मुख्य भूमिका रहनेछ। फिल्ममा पन्नु शाहरूखको जोडीको रूपमा देखिनेछिन्। शाहरूखले यस फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन्।
फिल्मको घोषणासँगै रिलिज मिति समेत तय भएको छ। फिल्मलाई सन् २०२३ को डिसेम्बर २२ मा रिलिज गरिने बताइएको छ।
फिल्मको कथा हिरानी, अभिजात जोशी र कनिका ढिल्लोंले लेखेका हुन्। फिल्मलाई राजकुमार हिरानी र गौरी खानले निर्माण गर्न लागेका हुन्। पञ्जावमा छायांकन हुने फिल्म यसै अप्रिल महिनाबाट फ्लोरमा जानेछ।
हिरानीले यसअघि ‘मुन्ना भाइ’ सिरिज, ‘थ्री इडियट्स’, ‘पीके’, ‘सन्जु’ जस्ता सफल फिल्म बनाइसकेका छन्।