
इण्डियन प्रिमियर लिग (आईपीएल) यसपटक पनि कोभिड १९ को संक्रमणबाट अछुतो छैन। दिल्ली क्यापिटल्सको टिममा कोभिड संक्रमण पुष्टि भइसकेको छ र एकजना खेलाडी अस्पताल भर्ना गरिएकोसमेत दाबी स्थनीय सञ्चारमाध्यमहरुले गरेका छन्। यसैबिच कोभिडकै कारण आज पुणेमा हुनु पर्ने दिल्ली र पञ्जाबबिचको खेल मुम्बईमा स्थानान्तरण भएको छ।
पञ्जाबले ६ खेल खेल्दा ३ जित र ३ हार ब्यहोर्दै ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ भने दिल्ली ५ खेलबाट ३ हार र दुई जित निकाल्दै तालिकाको ८ औं स्थानमा छ।
यो सिजनमा दिल्लीका उच्च स्कोरर हुन् पृथ्वी श। तर जारी प्रतियोगितामा उच्च स्कोर गर्ने खेलाडीको सूचिमा भने उनी २२ औं स्थानमा छन्। यसले दिल्लीको ब्याटिङमा देखिएको समस्यालाई देखाउँछ। त्यसमाथि एनरिच नोर्कियाको चोटले पनि दिल्लीलाई धेरै हदसम्म प्रभावित गरेको छ। अघिल्लो खेलमा मात्र निर्णायक मोडमा दिल्लीका कप्तान ऋषभ पन्तले रोयल च्यालेन्जर्स बेङ्ग्लोरका दिनेश कार्तिकको क्याच ड्रप गर्दा हातमा आएको खेल दिल्लीले गुमाउन पुगेको थियो। आजको खेलमा जित निकाल्न सके दिल्ली दुईस्थानसम्म माथि उठ्ने सम्भावना रहन्छ।
अर्कोतर्फ पञ्जाबको जित र हारको शृङखला चलिरहेको छ। पछिल्ला पाँच खेलमा टस हार ब्याटिङ गरेको पञ्जाबको अधिकांश स्कोर १८० देखि २०० को बीचमा देखिन्छ। अझ बेङ्ग्लोरसँगको खेलमा त २०५ रनको लक्ष्य एक ओभर बाँकी छँदै पञ्जाबले पछ्याएको थियो। बलिङमा भने राहल चहर र कागिसो रबाडालाई छाड्ने हो भने पञ्जाबको कमजोरी देखिएको छ। अस्रदीप सिंहले पनि डेथ ओभरमा रन घटाउन राम्रो गरिरहेका छन् तर ६ म्याचमा २१ ओभरमा मात्र विकेट लिएका छन्।
खेल आजसाँझ पौने ८ बजे मुम्बईस्थित ब्रबोर्न स्टेडियममा हुनेछ।