PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

फेरिएको जितगढी : २०७ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेको किल्ला



रमेश पराजुली

फेरिएको जितगढी : २०७ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेको किल्ला

बुटवल : बुटवलको ‘जितगढी किल्ला’ त्यही किल्ला हो जहाँ विसं १८७२ बैशाख ७ गते अर्थात् २०७ वर्षअघि आजकै दिन भएको लडाइँमा नेपालसँग हारेपछि तत्कालीन अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ।

केहीसमय अघिसम्म बालबालिका खेल्ने मैदान जस्तै बनेर ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने जितगढी किल्लाको स्वरुप अहिले भने पूरै फेरिएको छ। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास गर्न लागिएको हो।

अहिले बैशाख ७ गतेलाई विजय उत्सव दिवसका रुपमा मनाउने परम्पराको थालनी भएको छ। ऐतिहासिक सम्पदाका रुपमा रहेको यो किल्लाको संरक्षणको पहल भएको झण्डै २३ वर्षपछि बुटवल उपमहानगरपालिकाले अहिले विशेष कार्यक्रम बनाएर संरक्षण सुरु गरेको छ।

२०५४ सालमा जिल्ला विकास समितिले करिब दुई लाख रुपैयाँ विनियोजन गर्दै यो सम्पदाको संरक्षणका लागि औपचारिक काम सुरु गरेको थियो। बिचमा यत्तिकै रहेको यो क्षेत्रको संरक्षणको काम अहिले पुनः सुरु भएको हो।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बुटवलको प्रमुखमा शिवराज सुवेदी निर्वाचित भएपछि सोही वर्ष भित्री संरचना निर्माणलगायतका कामका लागि सुवेदीले एकैपटक ५० लाख रकम विनियोजन गर्दै काम सुरु गराएका थिए।

‘जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ’, स्थानीय अगुवा रवीन्द्र गोपाल लाकौल भन्छन्, ‘इच्छाशक्ति र दृढता भयो भने काम सफल हुने रहेछ भन्ने उदाहरण जितगढी बनेको छ।’

 

विजय उत्सव दिवसको पाँचौं वर्षसम्म आइपुग्दा बुटवलले जितगढीको गुरुयोजनाको अधिकांश काम पूरा भएको छ। गुरुयोजना अनुरुपको विस्तृत परियोजना प्रतिवेदनमा तोकिएका काम पूरा हुँदैछन्।

जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै माथिल्ला सरकारसँग सहकार्यको प्रस्ताव अगाडि बढाइएको छ। नजिकै रहेको अर्को जग्गामा जितगढी बटौली युद्ध संग्रहालय निर्माण गरिएको छ।

ऐतिहासिक स्मारक स्थल

बुटवल वडा नम्बर १ स्थित जितगढी किल्ला नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (विसं १८७१/७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो। बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए।

अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमाण्डमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी।

बटौली पर्यटन सर्किटको केन्द्र जितगढी

किल्लाको संरक्षण र संवर्द्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने र बटौली पर्यटन सर्किटको मुख्य केन्द्र नै जितगढीलाई बनाउने बुटवलको लक्ष्य छ। जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ।

अंग्रेजलाई हराउने कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक निमार्ण गरिएको छ। नजिकै १३ जना वीर योद्धाहरु काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, जुठे बस्नेत र थरघर नकुल बानियाँको सालिक ठडिएका छन्।

किल्लाको वास्तुकला, इतिहास, नेपाल-अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार हुँदैछ। पानीको फोहोरा सहित हरियाली गार्डेन तयार भएको छ।

त्यस्तै, किल्लाको पूर्वतर्फ बगिरहेको तिनाउ नदी अवलोकन गर्न मिल्ने गरी भ्यू डेक बनाउने काम भइरहेको छ। सराया नाचलगायतका साँस्कृतिक नाच तथा झाँकीहरु प्रदर्शन गर्न मिल्ने गरी छुट्टै स्थान तोकिएको छ। यसका लागि संरचना तयार भएको छ।

त्यस्तै, रंगभूमिको पछाडिको भागमा अवलोकनकर्ताहरुले नेपालको रणनैतिक आक्रमणका ठाउँहरु देखाइएको नेपालको ठूलो तस्वीर राख्ने काम सुरु भएको छ। एङ्लो नेपाल युद्धको झझल्को आउने गरी एउटा स्मारक डिजाइन गरिएको छ।

अवलोकनकर्ताहरुले किल्लाबाट बाहिर निस्कने द्वारमा यसलाई अवलोकन गर्न सक्नेछन्। किल्लामा यहाँका स्थानीयको सहयोगमा बुटवल उपमहानगरपालिका र पुरातत्व विभागले उत्खनन सुरु गरिसकेको छ।

प्रमुख सुवेदीका अनुसार अहिले झण्डा राखिएको टावरको केही स्वरुप फेरेर अझ भव्य बनाइने छ। किल्लाको बाहिरी र वरपरको भागलाई थप आकर्षक बनाइने छ।

भविष्यमा तिनाउ नदीलाई व्यवस्थित गर्दै जलपर्यटनका रुपमा पनि विकास गर्ने दीर्घकालीन योजनामा छ। किल्ला परिसरसँगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसँग जोडेर सर्किट बनाइएको छ र यसलाई साकार पार्न निजी क्षेत्र पनि सहकार्यको खाका तयार पारिएको छ।

रामापिथेकस क्षेत्र र अरु पार्कहरुलाई समेत जोडेर बटौली एकीकृत पर्यटन गन्तव्य बनाउने गरी विस्तारित गुरुयोजनालाई साकार पार्नेतर्फ ध्यान दिइएको प्रमुख सुवेदीको भनाइ छ।

इतिहासका जानकार र विज्ञहरुको मिहिनेत

बुटवल उपमहानगरले विभिन्न समयमा इतिहासविद्, इतिहासका जानकार तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर जितगढी युद्धमा साहदत प्राप्त गर्नेहरुको खोजी र पहिचान गर्न लगाएपछि मात्रै शालिक निर्माण गरिएको उक्त कार्यको संयोजनसमेत गरेकी अनुगमन समिति संयोजक उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

उक्त कार्यदलमा संयोजक झपेन्द्र जिसी र सदस्यहरु डा सूर्यबहादुर जिसी, विमल बहादुर शाक्य, चन्दा रावल, निर्मल श्रेष्ठ तथा रवीन्द्र गोपाल लाकौल र वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले नेपाली सेनामा रहेका विज्ञहरु, इतिहासकार र सम्पदाका बारेमा जानकार रहेकाहरुसँग विभिन्न समयमा अन्तरक्रिया गरेको थियो। उक्त कार्यदलले ती वीर नेपालीका वंशका परिवार तथा आफन्त, नेपाली सेनाका मातहतका विभिन्न अड्डा र इतिहासविदसँग विभिन्न समयमा छलफल गरेको कार्यदलका संयोजक जिसीले बताए।

संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरु, बटौली संरक्षण समिति तथा स्थानीय संघ-संस्था तथा क्लबहरुको सहकार्यमा जितगढीको संरक्षण र संवर्द्धनका तथा बटौली पर्यटन सर्किट व्यवस्थित गर्ने काम भइरहेको छ। 

जितगढी किल्ला परिसरमा रहेको पुरानो नगरपालिका भवन, (वडा कार्यालय) हटाइएको छ। सोही स्थानमा प्रदेश सरकारको सहकार्यमा जितगढी युद्ध संग्रहालय (बटौली संग्रहालय) स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।

फेरिएको जितगढीबारे के भन्छन् विज्ञहरु ?

जितगढी बल्ल देखिने, सुनिने र चिनिने भयो

नेपालको वीरताको किल्ला कागजमा सीमित थियो। अतिक्रमणको चपेटामा परेको थियो र जीर्ण बनिरहेको थियो।

बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिले जितगढी सुनिने, चिनिने र देखिने अवस्थामा पुगेको अहिलेको अवस्थाले प्रष्ट पारेको छ। अहिले यो किल्ला संरक्षण र संवर्द्धन भएर उज्यालो बनेको छ। जितगढीलाई आधुनिक, व्यवस्थित र योजनाबद्ध तरिकाले संरक्षण, विस्तार र विकास गर्नु समग्र इतिहासलाई उजागार गर्नु जस्तै हो।

तत्कालीन नेपाल-अंग्रेज युद्धमा विजेता भएका वीर योद्धाका, वीर सपूतका सालिक निर्माण गर्ने, सम्पदास्थललाई संरक्षण र संवर्द्धन गर्ने जुन काम भएको र यसले बुटवलको पहिचानलाई अझ विस्तार गरेको छ।

डा सूर्य जिसी, इतिहासविद्

बुटवलवासीले गर्व गर्न लायक भएको छ जितगढी

बुटवल उपमहानगरपालिकाले जितगढी सम्पदाको संरक्षण र विस्तार योजनाबद्ध ढंगले काम गरेको छ। बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बुटवलवासीले गर्व गर्न लायक काम भएको छ, जितगढीको मुहार फेरिएको छ।

जितगढीको संरक्षण, संवर्द्धन र विकासका लागि उपमहानगरका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा उदाहरणीय काम भएको छ। बुटवलवासीले गौरवबोध गर्न मिल्ने काम भएको छ। यद्यपि, जितगढीका लागि बनाइएको गुरुयोजना साकार पार्नका लागि अझै केही काम बाँकी पनि रहेका छन्।

बिमलबहादुर शाक्य, वरिष्ठ समाजसेवी तथा पूर्वउपप्रमुख

'इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम भएको छ'

बुटवलमा रहेको वीरताको किल्ला जितगढीको संरक्षण र संवर्द्धनमा उदाहरणीय काम भएको छ। जनप्रतिनिधि निर्वाचित भएर आएपछिका नौला काममध्येको यो एउटा महत्वपूर्ण काम हो।

गुरुयोजना बनाएर सुरु गरिएको यो कामले अहिले सार्थकता पाएको छ। विसं १८७१ देखि १८७२ बैशाख ७ गतेसम्मको पटक-पटकको लडाइँमा आफूलाई विश्व विजेता दाबी गर्ने अंग्रेज सेनासँगको युद्धमा डटेर लड्ने विजयी हुने कर्णेल उजीरसिंह सहित वीरयोद्धाका सालिक निर्माण गरेर इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम गरेको छ। प्रमुख सुवेदीसहित उपमहानगरका सबै जनप्रतिनिधि, कर्मचारीहरु र यसको संरक्षणका लागि खटिएका वडाका नागरिक अगुवा र सबै संरक्षणकर्मीहरु बधाईका पात्र हुनुहुन्छ।

झपेन्द्र जिसी, संस्कृतिविद्

बल्ल उज्यालो भएको छ जितगढी

जितगढी वीरताको किल्ला जितगढी सम्पदाको भूमिमा रहेका नागरिक हौँ हामी। यसको संरक्षणका लागि धेरै वर्षदेखि लड्दै आएका थियौँ तर सुनुवाई भएको थिएन।

अहिले बुटवलमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामी बुटवलबासीका लागि पनि गर्व गर्ने काम भएको छ। बल्ल विजयका गाथा सुनाउने सम्पदाका रुपमा यसको विकास भएको छ। साह्रै खुशी लागेको छ।

जितगढी बुटवलवासीको मात्र सम्पत्ति नभइ सिङ्गो राष्ट्रको सम्पत्ति बन्नेगरी बुटवलले काम गरेको छ। योजनाबद्ध विकास र संरक्षण एवं संवर्द्धनका काम कसरी हुँदा रहेछन् भन्ने कुरा हेर्नका लागि जितगढीमा आउनुपर्ने भएको छ। वीरताको किल्ला जितगढीको मुहार फेरिएको छ र सिंगो बुटवल उज्यालो भएको छ।

रवीन्द्रगोपाल लाकौल, संरक्षणकर्मी, बटौली संरक्षण तथा संवर्द्धन समिति, बुटवल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell