PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गठबन्धन हुँदा लुम्बिनी प्रदेशका चार उपमहानगरमा कसको पल्ला भारी?



विधुर ढकाल

गठबन्धन हुँदा लुम्बिनी प्रदेशका चार उपमहानगरमा कसको पल्ला भारी?

काठमाडौं : स्थानीय तहको निर्वाचन हुन २३ दिन बाँकी छ। स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेका छैनन्।

यसपटक स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वमा साना दलको गठबन्धन बिच प्रतिस्पर्धा हुँदैछ। सत्तारुढ गठबन्धनले ६ महानगरपालिकाको भागबन्डा टुंग्याइसकेका छन्। उपमहानगरपालिकाको भागबन्डा टुंग्याउन छलफल चलिरहेको छ।

गठबन्धनभित्र जनकपुर र नेपालगञ्ज महानगरपालिकामा मागबन्डा मिलेको छैन। बाँकी ९ उपमहानगरपालिकामा भने भागबन्डा मिलिसकेको छ। सबैभन्दा बढी उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशका नेपालगञ्ज बाहेकका तीन उपमहानगरपालिकामा भागबन्डा मिलिसकेको स्रोतले जनायो। नेपालगंजमा भने कांग्रेस र जनता समाजवादी पार्टीले दाबी नछाड्दा मिल्न सकेको छैन।

बुटवल र तुलसिपुरमा नेपाली कांग्रेस र घोराहीमा माओवादी केन्द्रले प्रमुखमा उठाउने सहमति भएको छ। स्रोतका अनुसार बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीलाई उपप्रमुख र घोराहीमा कांग्रेसले उपप्रमुख लिने सहमति जुटेको छ।

'गठबन्धन इमान्दार हुँदा एमालेलाई ठूलो धक्का'

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा रहेका चार उपमहानगर मध्ये तीनमा एमालेले जित हात पारेको थियो। त्यस्तै नेपालगञ्ज महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात पारेको थियो।

तीन उपमहानगरमा जित हात परेको एमालेलाई आफ्नो साख जोगाउन कठिन हुने देखिन्छ।

बुटवलमा जोगिएला त शाख?

बुटवलमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका शिवराज सुवेदी २ हजार ३९८ मतान्तरले विजयी भएका थिए। त्यतिबेला कांग्रेसका खेलराज पाण्डेयले २० हजार ८५१ मत ल्याउँदा सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन भएको थियो।

बुटवलको उपमेयरमा एमालेकी गोमादेवी आचार्यले माओवादी केन्द्रका जगतबहादुर पोखरेलले भन्दा १० हजार ५०९ बढी मत ल्याएर विजयी भएकी थिइन्। त्यतिबेला गठबन्धन गरेको भए पनि कांग्रेसका मेयरका उम्मेदवारले भन्दा माओवादीका उपमेयरका उम्मेदवारले पाँच हजार बढी मत कम पाएका थिए।

यस्तो अवस्थामा यहाँ पाँच दलीय गठबन्धनका लागि एमालेलाई पराजित गर्न ठूलै मिहेनत गर्नुपर्ने देखिन्छ। गठबन्धनले मत जोगाइ एमालेको मत एकीकृत समाजवादीमा काट्नुपर्ने देखिन्छ। यद्यपि रुपन्देहीका केही माओवादी नेताहरु एमालेतिर लागेका कारण माओवादीको मत पनि कट्ने देखिन्छ।

बुटवलमा गठबन्धनको जितका लागि एकीकृत समाजवादीको मतले ठूलो भूमिका खेल्ने देखिन्छ। त्यसैले यहाँ गठबन्धनले एकीकृत समाजवादीलाई उपमेयर दिएर कांग्रेसको भागमा मेयर राखेको छ।

तुलसिपुर र घोराहीमा गठबन्धन हावी

दाङ जिल्लामा रहेका दुई वटा उपमहानगरपालिकामा भने गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा गठबन्धनलाई सहज देखिन्छ। 

२०७४ सालको निर्वाचनमा तुलसीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डेले २२ हजार ८५७ मत लिएर विजयी भएका थिए। दोस्रो भएको कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए। यहाँ तेस्रो भएको माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत ल्याएका थिए।

यहाँ कांग्रेस र माओवादी केन्द्रका मेयरले पाएको मत २७ हजार ५९६ हुन्छ। जुन गत निर्वाचनमा एमाले उम्‍मेदवारले पाएको मत भन्दा चार हजार ७३९ मत बढी हो। यहाँ एकीकृत समाजवादीले एमालेको मत काट्दा गठबन्धनलाई जित्न सहज छ। यहाँ उपमेयर एकीकृत समाजवादीको भागमा पार्ने मोटामोटी सहमति जुटिसकेको छ।

दाङको अर्को उपमहानगर घोराहीमा पनि गठबन्धनलाई सहज देखिन्छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादी केन्द्रका मेयरका उम्मेदवारले पाएको मत जोड्दा विजयी एमाले उम्मेदवारको मत भन्दा ७ हजार ५३६ बढी हुन्छ। 

यहाँ एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत पाएका थिए। कांग्रेसका भुपबहादुर डाँगीले १७ हजार ४८४ मत ल्याउँदा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत पाएका थिए। दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला पनि हो। यहाँ एकीकृत समाजवादीको प्रभाव कम रहेको दाबी एमालेले गर्दै आएको छ।

यद्यपि, दाङबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी एकीकृत समाजवादीमा छन्। उनी लुम्बिनी प्रदेश अध्यक्ष पनि हुन्। थारु मतदाता बहुल रहेको दाङका यी दुई उपमहानगरमा एकीकृत समाजवादीको मत पनि रहेको आकलन छ। त्यस्तै दाङ माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराको पनि गृहजिल्ला हो। त्यसैले यहाँ गठबन्धनलाई सहज देखिन्छ।

यद्यपि सोमवार मात्र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा २०७४ सालमा घोराहीका मेयरका उम्मेदवार जीवन गौतमले माओवादी केन्द्र परित्याग गरेका छन्। यसको प्रभाव पनि पर्ने आंकलन एमालेले गरेको छ। त्यसैले जित हुनेमा ढुक्क गठबन्धन पनि छ।

नेपालगञ्जमा गठबन्धनकै मत बढी

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका धवलशम्शेर राणा निर्वाचित भएका थिए। उनले १२ हजार ५५१ मत लाउँदा नेपाली कांग्रेसका सुरेश कुमार कनौडियाले १० हजार ७३१ र माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए। यहाँ एमाले चौथोमा थियो। नेकपा एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत ल्याएका थिए। संघीय समाजवादी फोरमका कमरुद्दिन राईले पाँच हजार ४४१ मत पाएका थिए। 

उपप्रमुखमा भने नेपाली कांग्रेसकी उमा थापा बिजयी भएकी थिइन्। थापाले १० हजार ७३१ मत पाउँदा राप्रपाकी रमा रानी गुप्ताले ८ हजार ९२४ पाएकी थिइन्। यहाँ उपमेयरमा एमालेकी शान्तादेवी ढकालले ७ हजार ७७३ र माओवादीकी कलामुन अन्सारीले ७ हजार ६७ मत पाएकी थिइन्। उपमेयरमा नयाँ शक्तिकी शोमा कुमारी लखेरले ५ हजार ३८९ मत ल्याएकी थिइन्।

यहाँ एमालेले राप्रपालाई सहयोग गरी उपमेयर लिने दाउमा रहे पनि एमालेको गठबन्धन राप्रपा छाडेका कमल थापा नेतृत्वको राप्रपा नेपालसँग भएका कारण त्यो सम्भावना कम देखिन्छ। यद्यपि, गठबन्धनको प्रयास स्वरुप ओलीले बाँके पुग्दा मेयर तथा राप्रपाका महामन्त्री राणाकै घरमा पुगेर भेट गरेका थिए।

यहाँ गठबन्धनका दल कांग्रेस माओवादी केन्द्र र जसपा (तत्कालीन समाजवादी फोरम)ले पाएको मत जोड्दा २१ हजार ३६९ पुग्छ। यहाँ राप्रपा र एमालेको मत जोड्दा पनि १९ हजार ४८० मत हुन्छ। उपमेयरमा कांग्रेस, माओवादी केन्द्र र जसपा (तत्कालीन नयाँ शक्ति)को मत जोड्दा २३ हजार १८७ हुन्छ। त्यस्तै राप्रपा र एमालेका उम्मेदवारले उपमेयरमा पाएको मत जोड्दा १६ हजार ६९७ मात्र हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell