
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी बैशाख ८ गते अपराह्न नेपाल आउने भएका हुन्।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्। त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।
नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्नेछन्।
भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन पनि गर्नेछन्।
महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहनेछन्। बैशाख १० गते उनी नेपालबाट फर्कने कार्यक्रम रहेको छ।