
हेटौँडा : हेटौँडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले विरोध जनाएको छ।
बुधवार पार्टी कार्यालयमा हेटौँडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे नगरका १९ वटै वडाका सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने चेतावनी दिएको हो।
नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल नै नगरेको बताए।
‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ,’ उनले भने।
‘गठबन्धन दलहरुबिच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौँडाको वस्तुगत अवस्थाबारे जानकारी नलिई कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता गर्दै भएको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ,’ उनले थपे।
पोखरामा पनि महानगरपालिकाको मेयरको उम्मेदवारी एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ। सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्।
पोखराका नेताहरुले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएका थिए। यस्तै, भरतपुरका कांग्रेस नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।