
काठमाडौं : सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा लगातार बसेको बैठक बुधवार निष्कर्षमा पुगेको हो। सबै महानगर र उपमहानगरमा भागबन्डा टुंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकरी दिए।
अब नेपाली कांग्रेसले ३ महानगरमा प्रमुख र ३ महानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरमा उम्मेदवारी दिने तय भएको हो। वीरगंज, भरतपुर र पोखरामा भने कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ।
यस्तै, ७ वटा उपमहानगरमा कांग्रेसले प्रमुख पदमा उम्मेदवारी दिने भएको छ। धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर,नेपालगन्ज र धनगढीमा प्रमुख पदमा उम्मेदवारी दिने भएको हो। ३ उपमहानगरमा कांग्रेसले उमपेयरमा उम्मेदवारी दिने छ। जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरमा उपप्रमुख कांग्रेसले पाएको हो।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा मेयर र ललितपुर महानगरमा उपमेयर पाएको छ। जितपुर सिमरा र घोराही उपमहानगरमा माओवादीले मेयरमा उम्मेदवारी दिने तय भएको छ। धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा माओवादीले उम्मेदवारी दिने सहमति भएको हो।
यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख पदमा उम्मेदवारी दिनेछ भने हेटौंडा उपमहानगरमा पनि एकीकृत समाजवादीकै उम्मेदवार चुनावमा उठेने भएका छन्। इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिने तय भएको छ।
जनता समाजवादी पार्टी जसपाले वीरगंज महानगरमा प्रमुख र विराटनगरमा उपप्रमुखको भाग पाएको छ। जनकपुर उपमहानगरमा पनि जसपाले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ। यस्तै कलैया र नेपालगन्जमा उपप्रमुखमा जसपाले उम्मेदवारी दिनेछ।
गठबन्धनले जारी गरेको सहमति पत्रमा कुनै पालिकामा सहमति जुटन नसकेको अवस्थामा गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने उल्लेख छ।
कुन दललाई कुन पालिका ?