PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गठबन्धनबाट एकीकृत समाजवादीको भागमा परेको ठाउँमा के एमालेले जित्ला?



प्रकाश भण्डारी

गठबन्धनबाट एकीकृत समाजवादीको भागमा परेको ठाउँमा के एमालेले जित्ला?

काठमाडौँ: सत्ता गठबन्धनले केही दिनयताको लगातारको छलफलपछि महानगर र उपमहानगरमा उम्मेदवारको भागबन्डा टुंगो लगाएको छ। अब महानगर र उपमहानगरको किचलोबाट गठबन्धन मुक्त भएको छ भने नगरपालिका र गाउँपालिकाको भागबन्डाको सकस बाँकी नै छ।

मनोनयनको दिन आउन ४ दिन मात्रै बाँकी रहेका बेला गठबन्धनले सबै ठाउँको उम्मेदवारी टुंगो लगाउन सकेको छैन। को उम्मेदवार बन्ने भन्ने विषयमा पनि सबै ठाउँमा गठबन्धनमा रहेका पाँच दल सहमतिमा पुग्न सकेका छैनन्।

गठबन्धन भित्रको तेस्रो ठूलो दल एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेकोमा नेपाली कांग्रेस पछि हटेपछि सहमति जुटेको छ। यस्तै हेटौँडा उपमहानगरमा पनि एकीकृत समाजवादीले प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ। इटहरी, बुटवल र तुलसीपुर उपमहानगरमा एकीकृत समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिने सहमति जुटेको छ।

नेपाली कांग्रेसका जिल्ला कमिटीका नेताहरुले पोखरा महानगर र हटौँडा उपमहानगरमा एकीकृत समाजवादीलाई जिताउन नसकिने भन्दै केही दिनयतादेखि नै विरोध गर्दै आएका थिए। उनीहरुको विरोधका बाबजुद समाजवादीलाई नै सो ठाउँको नेतृत्व दिने निचोडमा पुग्यो।

एकीकृतको भागमा परेको महानगर र उपमहानगरबमा एमाले जित्ला?

एमालेका नेता कार्यकर्ताहरु पोखरा महानगरपालिका एकीकृत समाजवादीको भागमा परेसँगै उत्साहित भएका छन्। एमाले पोखरामा बलियो अवस्थामा रहेको र त्यसमा पनि गठबन्धनमा कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवारलाई मत नहाल्ने भन्दै एमालेका जिल्ला कमिटीका नेताहरु उत्साहित भएका हुन्।

२०७४ सालको चुनावी परिणाम अनुसार एमाले महानगरमा नै बलियो नै देखिन्छ। त्यसबेला एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर महानगर प्रमुखमा जितेका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामजी कुँवरले त्यतिबेला ४६ हजार ४१६ मत ल्याएका थिए।

मेयर र उपमेयर दुवैमा जितेको एमाले अहिले पनि आफू बलियो अवस्थामा रहेको दाबी गरिरहेको छ। एमाले विभाजनको पनि कम असर रहेको एमालेको आकलन छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी अरु ठाउँमा जस्तै पोखरामा पनि कमजोर अवस्थामा रहेका छन्।

हेटौँडामा के होला?

समाजवादीले ११ उपमहानगर मध्य हटौँडा उपमहानगरमा मात्रै मेयरको भाग पाएको छ। यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर प्रमुख पद जितेका थिए। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए।

एमालेकी मीनाकुमारी लामाले २३ हजार ४३७ मत ल्याएर उपमेयरमा जित्दा दोस्रो भएकी थिइन् माओवादी केन्द्रका बलराम लामा। कांग्रेस माओवादी गठबन्धनका बाबजुट बलराम लामाले त्यतिबेला १७ हजार ११ मत ल्याएर पराजित हुन परेको थियो।

इटहरी, बुटवल र तुलसीपुरको हिसाब यस्तो

नेकपा एकीकृत समाजावादीले उपप्रमुख पाएको उपमहानगरपालिका हुन् इटहरी, बुटवल र तुलसीपुर।

इटहरी उपमहानगरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका द्धारिकालाल चौधरीले नेपाली कांग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईँलाई हराएका थिए। चौधरीले २२ हजार ६८९ र प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए। उपप्रमुखमा एमालेकी लक्ष्मीकुमारी गौतमले २१ हजार ८४२ मत ल्याएर विजयी भएकी थिइन। दोस्रो हुने कांग्रेसकी विमला सापकोटाले १८ हजार ३५२ मत ल्याइन्।  त्यहाँ पनि हाल एमाले बलियो अवस्थामै छ। एमालेबाट चौधरी नै मेयरको आकांक्षी छन्।

समाजवादीले एमालेले जितेका सबै ठाउँमा आफ्नो हक लाग्ने दाबी गरेको थियो। तर, मागेअनुसार भने पाएन। यहाँ उसले उपमेयरमा चित्त बुझाउन परेको छ। बुटवलमा पनि एमालेकै उम्मेदवार २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए। एमालेका तर्फबाट शिवराज सुवेदीले मेयरमा २३ हजार २४९ मत ल्याएका थिए। दोस्रो भएका नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए। उपमेयरमा एमालेकी गुमादेवी आचार्य २५ हजार  ३०१ मत ल्याएर विजयी भएकी थिइन भने माओवादी केन्द्रका जगत बहादुर पोखरेल १४ हजार ७९२ मत ल्याएर दोस्रो भएका थिए।

यता तुलसीपुर उपमहानगरमा पनि एमालेका घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर चुनाव जितेका थिए। दोस्रो हुनेमा कांग्रेसका महेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याए। उपप्रमुखमा एमालेकी माया शर्माले २१ हजार ३७ मत ल्याएर चुनाव जितेकी थिइन। नेपाली कांग्रेसकी देविका नेपाली २० हजार १८५ मत ल्याएर दोस्रो भइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell