इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले ९ विकेटको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। पञ्जाबका लागि जितेश शर्माले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवालले २४ रन बनाए। त्यस्तै मोहम्मद शाहरुख खान र राहल चहरले समान १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
दिल्लीका लागि खलिल अहमेद, ललीत यादव, अक्षर पटेल र कुलदीप यादवले समान २ विकेट लिँदा मुस्ताफिजुर रहमानले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक अविजित ६० रन बनाउँदा पृथ्बी शले ४१ रन बनाए। त्यस्तै सर्फराज खान १२ रनमा अविजित रहे। बलिङतर्फ पञ्जाबका राहुल चहरले १ विकेट लिए।
जितसँगै दिल्ली क्यापिटल्स ६ खेलबाट ६ अंकजोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ। समान ६ अंक जोडेको पञ्जाब तालिकाको ८ औं स्थानमा छ।