PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

महिला गोल्डकपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा



पहिलोपोस्ट

महिला गोल्डकपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। आज धनगढी रंगशालामा सम्पन्न सेमिफाइनल पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो।

रोमाञ्चक खेलमा एपीएफले आर्मीलाई ३–२ ले हराउँदै फाइनलको यात्रा तय गर्न सफल रह्यो। एपीएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन्। यस्तै सावित्रा भण्डारीले एक गोल गरिन्। आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काए। एपीएफका लागि सरुले २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। त्यसको ११ मिनेटपछि खेलको ३४ औं मिनेटमा सरुले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन्।

पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो। खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई सुरक्षित बनाइन्। खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै खाता खोलिन्। इन्ज्युरी समयमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन्। त्यसपछि गोल हुन नसकेपछि एपिएफ ३–२ को जित निकाल्दै फाइनलमा पुग्यो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपीएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भइन्। उनले नगद ५ हजार सहित ट्रफी पाइन्। वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ। विहीवार हुने दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell