काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै पालिकामा आजबाट निर्वाचन अधिकृतको कार्यालय संचालनमा आउँदैछ। प्रदेशका सबै निर्वाचन कार्यालयले आज ९ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको हो।
वैशाख ३० गतेका लागित तय निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्याउने काम भइरहेको भट्टले बताए। प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन्। कञ्चनपुरका ९ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन्। सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन्।