PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोभिड महामारीको जोखिम कायमै रहेको भन्दै बुस्टर मात्रा खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध



पहिलोपोस्ट

कोभिड महामारीको जोखिम कायमै रहेको भन्दै बुस्टर मात्रा खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
फाइल फोटो।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारीको जोखिम कायमै रहेको भन्दै सबैलाई बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले एक विज्ञप्ति जारी गर्दै पूर्ण मात्रा खोप लगाएकाहरुले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेकी छिन्।

‘कोभिड-१९ को संक्रमणदर भारतलगायतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको मन्त्रालयको भनाइ छ। कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान सञ्चालन भइरहेको मन्त्रालयले बताएको छ।

साथै, खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड-१९ विरुद्धको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ। सरकारसँग अझै करिब १ करोड खोप मौज्दात रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell