PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हेटौंडा एकीकृत समाजवादीलाई दिएपछि मकवानपुर कांग्रेस विभाजित, इतर समूहको आरोप : गठबन्धनले एमालेलाई सघायो



निशा गुरुङ

हेटौंडा एकीकृत समाजवादीलाई दिएपछि मकवानपुर कांग्रेस विभाजित, इतर समूहको आरोप : गठबन्धनले एमालेलाई सघायो

हेटौंडा : पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने सहमति गरेपछि मकवानपुर कांग्रेस विभाजित भएको छ। संस्थापन पक्ष केन्द्रको निर्णय मानेर अघि बढ्नुपर्ने पक्षमा छ भने इतर समूह सहमतिको विरुद्धमा उभिएको छ।

नेपाली कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालय, हेटौंडामा बिहिवार इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय मान्य नहुने बताएका हुन्।

कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले हेटौंडा एकीकृत समाजवादीको हातमा दिँदा नेपाली कांग्रेसलाई दीर्घकालिन रुपमा आघात पुग्ने बताए। साथै केन्द्रीय समितिले हेटौंडाको विषयमा पुनारावलोकन नगरे आफुहरु एक्लै निर्वाचनमा होमिने चेतावनी दिए। आम कार्यकर्ताको बुझाई एक्लै निर्वाचनमा जाँदा समेत निर्वाचन जितिन्छ भन्ने रहेको भन्दै उनले केन्द्रले ‘पाथीमा मुरी खनाउनको लागि भनेको तर आफुहरु त्यसो गर्न तयार नरहेको’ धारणा राखे।

हेटौंडामा जनमतकै एकिन नभएको र भर्खरै संगठन निर्माणको क्रममा रहेको एकीकृत समाजवादीलाई प्रमुख मान्न आफुहरु तयार नभएको उनको भनाइ छ। कठायतले नेकपा एमालेविरुद्ध गठित पाँच दलीय गठबन्धन झनै एमालेलाई नै सघाउन बनेकोजस्तो देखिएको बताए।

के भन्छ संस्थापन पक्ष ?

यता, संस्थापन पक्षले भने केन्द्रको निर्णय मान्नुपर्ने बताएको छ। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आफ्ना नेताले टिकट पाएन भनेर विरोध गर्नु गलत भएको बताए।

उनले यो गठबन्धन भत्काउने नियतले पार्टीलाई असहयोग भएको बताउँदै पार्टीको निर्णय नमान्ने कार्यकर्तालाई कारबाही गर्नेसमेत बताएका छन्।

उपमहानगरको मेयर पद एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धको निर्णणको विरोधमा मकवानपुरमा दबाबमुलक कार्यक्रम सुरु भइसकेको छ। केन्द्रीय निर्णयको विरोधमा केहि दिनअघि पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो।

कांग्रेसको तर्फबाट हेटौंडाको मेयरमा उम्मेद्वारमा पार्टी पुर्वसचिव आनन्दराम पराजुली र नेविसंघ पुर्वमहामन्त्री प्रभातकुमार दाहालको नाम चर्चामा थियो। नेकपा एकीकृत समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र हेटौंडाकी बहालवाला उपमेयर मीना लामाको नाम सिफारिस भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell