इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नइ सुपर किंग्स र मुम्बइ इण्डियन्स भिड्दैछन्। दुवै टोलीको इतिहास हेर्ने हो भने यो खेललाई 'एल क्लासिको' भन्न द्विधा मान्नु पर्दैन तर वर्तमानमा अवस्था फरक छ।
यी दुवै टोली जितका लागि संघर्ष गरिरहेका छन्। चेन्नइले जारी सिजनका ६ खेल खेल्दा एउटा मात्र जित निकालेको छ भने मुम्बइले लगालग ६ खेलमा पराजय ब्यहोरेको छ। यसपटक आईपीएलमा जित निकाल्न नसकेको टोली मुम्बइ इण्डियन्स मात्र हो। मुम्बइले आईपीएलको उपाधि पाँच पटक उचालेको छ भने चेन्नइले ४ पटक उचालेको छ। आइपीएलको १४ मध्ये ९ उपाधि यी दुई टिमले राखेका छन्।
आईपीएलको इतिहासमा पहिलो पटक मुम्बइले लगातार छैटौं खेलसम्म जित निकाल्न सकेन। यसअघि पाचवटा हार ब्यहोरेर पनि मुम्बइले प्लेअफमा स्थान त बनाएको थियो तर यसपटक अवस्था फरक छ। टिमले ६ वटा खेल त गुमाइसक्यो अब ८ वटा खेल बाँकी छ। लगातार आठ वटा खेल जित्नु कुनै चमत्कार भन्दा कम हुने छैन। तर, जितेको खण्डमा पनि रनरेटलाई पर्खनुपर्ने दवाबमा मुम्बइ हुनेछ।
मुम्बइसँग मिल्दोजुल्दो अवस्था चेन्नइको पनि छ। ६ खेल खेल्दा चेन्नइको हातमा मात्र २ अंक छ। चेन्नइले पनि प्लेअफमा स्थान बनाउन बाँकी ८ वटै खेलमा जित पर्खनुपर्ने अवस्था छ।
यी दुई टोलीले एक आपसमा ३२ खेल खेलेकोमा चेन्नइले १३ र मुम्बइले १९ खेल जितेका छन्। बलिङमा कमजोर देखिएका यी टोली मध्ये चेन्नइले प्रतिओभर औशतमा ९ ओभर खर्चिएको छ भने मुम्बइले ९.६ रन खर्चिएको छ। जुन जारी प्रतियोगिताको सबैभन्दा खराब आँकडा हो।
यी दुई टोली आज साँझ पौने ८ बजे मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा आमनेसामने हुनेछन्।