PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

भोलिदेखि एसईई : दुई वर्षपछि भौतिक उपस्थितिमै परीक्षा, जापानबाट पनि विद्यार्थी सहभागी हुने



रासस

भोलिदेखि एसईई : दुई वर्षपछि भौतिक उपस्थितिमै परीक्षा, जापानबाट पनि विद्यार्थी सहभागी हुने

काठमाडौं : बैशाख ९ गतेदेखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। कोरोना भाइरस संक्रमणका कारण २०७६ र २०७७ सालमा भौतिक रुपमा एसईई परीक्षा संचालन भएको थिएन। आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो।

कोरोना महामारी सुरु भएपछि पहिलोपटक भौतिक उपस्थितिमा नै भोलिबाट एसईई संचालन हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला-जिल्ला पठाइसकेको बताए।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षाका लागि देशभर दुई हजार सातवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्। परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन्। एसईईमा नेपालीले जापानमा संचालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन्।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ। यस वर्षको एसईई परीक्षा संचालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिए। परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ। बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ। शर्माले भने, ‘यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ। बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ। त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell