PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस



पहिलोपोस्ट

काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस नेपाल आइपुगेका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए। भारत भ्रमण सकाएर उनी आज नेपाल आएका हुन्। भारतमा रहँदा उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'तुलसी भाइ' भनेर नयाँ नाम दिएका थिए।

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका रहेको छ। त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।

महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए। भ्रमणकै क्रममा डा गेब्रेयससले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नेछन्।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 ट्रेडोस वैशाख १० गते नेपालबाट फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell